व्यापारीसँग मिलेर कमिसन खाएर करका दर तोकियो: अध्यक्ष ओली
अखबार टुडे
प्रकाशित:
२०७९, २ असार

काठमाडौं, २ असार । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले करका दर तय गर्ने क्रममा व्यापारीसँग मिलेर कमिसन खाएको आरोप लगाएका छन् ।

विहीबार एमालेबाट निर्वाचित जनप्रतिनिधिका लागि काठमाडौंमा आयोजना गरिएको प्रशिक्षण र अभिमुखीकरण कार्यक्रममा उनले करका दर तोक्ने क्रममा कमिसनको खेल र व्यापारीसँग साँठगाँठ गरिएको आरोप लगाएका हुन् ।

उनले भने, ‘व्यापारीसँग मिलेर करका दर तोकिन्छ । कमिसन खाएर करका दर तोकिन्छ । यस्तो त कुनै राज्य, कुनै प्रणालीमा पनि कल्पना गर्न सकिँदैन । यो पञ्चायत कालमा पनि हुँदैनथ्यो । कहीँ पनि हुँदैन ।’

करका दर तय गर्ने काम गोप्य हुने उल्लेख गर्दै ओलीले वर्तमान सरकार र अर्थमन्त्री जनार्दन शर्माले त्यो गोपनियता कायम गर्न नसकेको आरोप लगाए ।

बजेट संसद्मा प्रस्तुत गर्नुभन्दा पहिला मन्त्रिपरिषद्मा ब्रिफिङ गरिने र त्यहाँ पनि करका दर नभई बजेटको समग्र ब्रिफिङ गरिने प्रचलन रहेको ओलीको भनाइ थियो । त्यहाँ रहेका मन्त्रीले करका दर र बजेटबारे सूचना चुहाउलान् भनेर प्रधानमन्त्रीसँगै संसद् जाने प्रचलन रहेको उनले बताए ।

उनले भने, ‘यहाँ त बजेट बनाउँदै गर्दा व्यापारिका प्रतिनिधि राखेर बनाइन्छ । बजेट बनाउनु पहिला कमिसन खाएर बनाइन्छ भने के हालत भयो देशको ।’

बजेट निर्माण गर्ने क्रममा अर्थमन्त्रीले अनधिकृत व्यक्तिलाई कर, भन्सार र राजश्वका दर चलाउन लगाएको भन्दै एमालेले संसद्मा विरोध गरिरहेको छ । अर्थमन्त्री शर्माले कि राजीनामा गर्नुपर्ने नभए संसदीय छानबिन समिति गठन गर्नुपर्ने माग एमालेले गरिरहेको छ ।

प्रतिक्रिया