एसपीपीबारे प्रचण्डको दाबी: केपी ओली सरकारले नै कार्यान्वयन गरेको हो
अखबार टुडे
प्रकाशित:
२०७९, २ असार

काठमाडौं, २ असार । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) सम्झौता कार्यान्वयन गर्ने काम केपी ओली सरकारकै पालामा भएको दाबी गरेका छन् ।

बिहीबार रितवहादुर खड्का स्मृति दिवसका अवसरमा आयोजित कार्यक्रममा अध्यक्ष प्रचण्डले भने, ‘बरु यो एसपीपी सम्झौता कार्यान्वयन गर्ने सहमति २०१९ मा केपी ओली नेतृत्वको सरकारले गरिसकेको तथ्य इतिहासमा छ । यो कुरा हामी सवैले बुझ्न जरुरी छ ।’

उनले गठबन्धन त्यस्तो कुरामा नजाने भन्दै अहिले फेरि कुनै न कुनै रुपले राष्ट्रवादको पाखण्डी प्रचार गर्ने कसरत भइरहेको बताए । उनले राष्ट्रवादको पाखण्डी प्रचार गर्नेहरुले सवैभन्दा वढि आत्मसमर्पण गर्ने गरेको इतिहास रहेको समेत बताए ।

प्रचण्डले भने, ‘हिजो आज एसपीपी सैन्य गठबन्धन भैसक्यो रे जसरी प्रचार भइरहेको छ, विल्कुल झुठो हो । म गठबन्धनको एउटा नेताको हैसियतले प्रधानमन्त्री र गठबन्धनमा भएका छलफलमा त्यस्ता कुनै सम्झौता भएको छैन, हुने छैन यो घोषणा गर्न चाहान्छु ।’

प्रधानमन्त्री शेरबहादुर देउवाले कुनै पनि हातले त्यस्तो खालको सम्झौतामा जान्न भनेर प्रतिवद्धता जनाएकाले भ्रममा पर्न जरुरी नभएको उनले बताए । यो गठबन्धन नेपालको राष्ट्रिय स्वाधिनता, विकास र समृद्धिको पक्षमा दृढताका साथ उभिने उनले बताए ।

प्रतिक्रिया