काठमाडौं, १ असार । आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत नेपालले ओमानमाथि सहज जित निकालेको छ ।
अमेरिका, ओमान र नेपालबीचको त्रिकोणात्मक एकदिवसीय सिरिजमा नेपालले आफ्नो तेस्रो खेलमा ओमानलाई ७ विकेटले पराजित गर्दै पहिलो जित हात पारेको हो ।
बुधबार बिहान टेक्सासको मोसा रंगशालामा सकिएको खेलमा ओमानले दिएको १६४ रनको लक्ष्य नेपालले ३ विकेटको क्षतिमा ३३.१ ओभरमै पूरा ग¥यो ।
नेपालको जितमा ओपनरद्वय कुशल भुर्तेल र आसिफ शेखले अर्धशतक प्रहार गरे । कुशलले ५६ रन र आसिफले ६२ रन जोडे । कुशलले ७५ बल खेलेर ५ चौका र आसिफले ८६ बल खेलेर ७ चौका र १ छक्का प्रहार गरे।
देव खनाल १० रनमा आउट हुँदा उपकप्तान रोहित पौडेलले नटआउट २६ रन र दीपेन्द्रसिंह ऐरीले नटआउट ७ रन जोडे । रोहितले २१ बलमा १ चौका र १ छक्का तथा दीपेन्द्रले ५ बलमा १ चौका हिर्काए ।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको ओमान ४६.५ बलमा १६३ रनमै अलआउट भयो। उसका लागि कप्तान जीशन मक्सुदले सर्वाधिक ५२ रन र सन्दीप गौडले ४७ रन जोडे।
ओमानलाई सस्तैमा रोक्ने क्रममा नेपालका करण केसीले ५ विकेट लिए । उनले ९ ओभरमा ३३ रन खर्चिए । एकदिवसीय खेलमा करणले लगातार दोस्रो खेलमा पाँच विकेट लिन सफल भएका हुन् । अमेरिकाविरुद्धको अघिल्लो खेलमा पनि उनले पाँच विकेट लिएका थिए । कप्तान सन्दीप लामिछानेले तीन विकेट लिए भने सोमपाल कामी र दीपेन्द्रसिंह ऐरीले १–१ विकेट हात पारे ।
जितसँगै २ अंक जोडेको नेपाल लिग–२ को अंक तालिकामा पाँचौ स्थानमा उक्लिएको छ । नामिबियालाई पछि पारेको नेपालको १५ खेलबाट १५ अंक भएको छ । छैठौं स्थानमा झरेको नामिबियाको १४ खेलबाट १४ अंक छ। यता लिग–२ का सबै खेल खेलिसक्दा शीर्ष स्थानको ओमानको ३६ खेलबाट ४४ अंक छ ।
दोस्रो स्थानको स्कटल्यान्डको २० खेलबाट २८ अंक, तेस्रो स्थानको युएईको २२ खेलबाट २६ अंक र चौथो स्थानको अमेरिकाको २३ खेलबाट २१ अंक छ। पुछारको पपुवा न्युगिनीको २० खेलबाट २ अंक छ ।
नेपालले आजै घरेलु टोली अमेरिकासँग खेल्दैछ । अमेरिका भ्रमणमा रहेको नेपालले अमेरिकासँग ह्युस्टनमा बेलुका सवा ९ बजे खेल्न लागेको हो । अमेरिकामा चलिरहेको श्रृङ्खलाको यो अन्तिम खेल हो ।