
काठमाडौं, ३१ जेठ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले अर्थमन्त्री जनार्दन शर्माको राजीनामा मागेका छन् ।
करको दर हेरफेरका विषयमा प्रश्न उठ्दा पनि अर्थमन्त्री संसदमा उपस्थित भएर जवाफ नदिएको भन्दै सांसद पाण्डेले अर्थमन्त्री पदमा बसिरहन नैतिक रुपमा नमिल्ने बताएका हुन् ।
आजको संसद बैठकको सुरुमै बोल्दै पाण्डेले भने, ‘करको विषय ज्यादै गोपनीय विषय हो, राष्ट्रिय सुरक्षा जस्तै विषय हो, राष्ट्रिय स्वार्थको विषय हो । यस्ता गोपनीयताहरु बाहिर सार्वजनिक गर्ने, अझ गोपनियताहरुमा साँठगाँठ र मिलेमतो गर्ने जस्ता कुराहरु गम्भीर अपराध मानिन्छन् । त्यसबारेमा छानबिन हुनुपर्दछ । मन्त्रीले नैतिक हिसाबले त्यो जिम्मेवारीमा बस्न मिल्दैन भन्ने मलाई लाग्दछ ।’
उनले यति गम्भीर विषयमा प्रश्न उठेपछि अर्थमन्त्री त्यो पदमा बस्नको लागि सक्षम हुनुहुन्छ ? लायक हुनुहुन्छ ? भनेर प्रश्न गरेका छन् । पाण्डेले प्रधानमन्त्रीको पनि ध्यानाकर्षण गराएका छन् । ‘यति गम्भिर प्रश्नमा प्रधानमन्त्रीले यसको जवाफदेही लिनुपर्छ कि पर्दैन ? यो केबल अर्थमन्त्रीको मात्र विषय हो कि के हो ? यसको जानकारी संसदलाई चाहिन्छ,’ उनले भने ।
बजेट संसद्मा प्रस्तुत गर्नु अघिल्लो दिन अर्थमन्त्रालयका कर्मचारीबाहेक कसैलाई प्रवेश दिइँदैन । खासगरी करका दरमाथिको छलफल चलिरहेको बेलामा मन्त्रीलाई बाहेक कसैलाई फोन राख्ने अधिकार दिइँदैन र सचिवका टेलिफोन दराजमा राखेर छलफल गर्ने चलन रहन्छ ।
तर यसपटक अर्थमन्त्री शर्माले बाहिरका मान्छेलाई अर्थमन्त्रालयमा बोलाएर करका दर चलाउन आदेश दिएको भन्ने सार्वजनिक भएको विषयलाई लिएर प्रतिपक्षले संसद्मा आवाज उठाएको हो । निश्चित व्यापारिक घरानालाई फाइदा पु¥याउनका लागि बजेटमा करका दर, भन्सार र राजश्व दरमा हेरफेर गरेको आरोप अर्थमन्त्रीलाई लागेको छ ।