लुम्बिनी प्रदेशकी स्वास्थ्य राज्यमन्त्री बिमला वली प्रहरी नियन्त्रणमा
अखबार टुडे
प्रकाशित:
२०७९, ३१ जेष्ठ

काठमाडौं, ३१ जेठ । लुम्बिनी प्रदेशकी स्वास्थ्य, जनसङ्ख्या तथा परिवार कल्याण राज्यमन्त्री विमला वलीलाई प्रहरीले पक्राउ गरेको छ ।

एक महिला र उनकी छोरीलाई कुटपिट गरेको आरोपमा वलीलाई आज बिहान प्रहरीले नियन्त्रणमा लिएको हो ।

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ५ आलुमण्डीको पछाडी बस्ने मीना भण्डारी बस्नेतको घरभित्रै गएर मन्त्री वलीले मीना र उनकी छोरीलाई कुटपिट गरेकी थिइन् ।

अर्काको घरभित्र गएर मन्त्री नै कुटपिटमा उत्रिएपछि उनलाई नियन्त्रणमा लिनुपरेको प्रहरीले बताएको छ । मन्त्री वलीले मीनाको घरभित्रै गएर कपडासमेत फालिदिएपछि घटनास्थलमा प्रहरी परिचालन गरिएको थियो ।

महिला र बालिका कुटपिट गरेपछि राज्यमन्त्री वलीलाई इलाका प्रहरी कार्यालय तुलसीपुरले नियन्त्रणमा लिएको हो ।

केही अघि बिमला र मीनाका श्रीमान् एकराजबीच ‘प्रेम सम्बन्ध’ रहेको बाहिरिएको थियो। उनी नेकपा माओवादी केन्द्रबाट सांसद पनि छिन् । उनी दाङको क्षेत्र नम्बर ३ (ख) बाट प्रदेश सभा सदस्य निर्वाचित भएकी थिइन् ।

०७४ मा यो क्षेत्रबाट नेकपा एमालेका उत्तरकुमार वली निर्वाचित भएका थिए। उनको निधनपछि उपनिर्वाचन गर्दा उनकी पत्नी बिमला यहाँबाट निर्वाचित भएकी हुन् । तत्कालीन नेकपा विघटन भई नेकपा एमाले र नेकपा माओवादी केन्द्र पुनः अस्तित्वमा आएपछि बिमलाले माओवादी पार्टी रोजेकी थिइन् ।

प्रतिक्रिया