
काठमाडौं, ३० जेठ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले विदेशी सेना नेपालमा छन् भन्ने कुरा आफूले पहिलो पटक सुनेको बताएका छन् ।
सोमवार प्रतिनिधि सभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा परराष्ट्र नीतिबारे बोल्दै अध्यक्ष नेपालले विदेशी सेना नेपालमा आएर बस्नु गम्भीर विषय भएको बताए ।
उनले भने, ‘विदेशी सेना नेपालमा छन् भन्ने मैले भर्खरै पहिलोचोटि सुनेँ । त्यो हो भने गम्भीर कुरा हो । कहाँ छन् । कुन कुन देशका छन् । कुन क्याम्पमा राखिएको छ । त्यसमा बारेमा समितिको ध्यान जानुपर्छ । सरकारको ध्यानाकर्षण गराउनुपर्छ ।’
अध्यक्ष नेपालले प्रधानमन्त्रीको अमेरिका भ्रमणको विषयमा धेरै प्रश्नहरू उठेको भन्दै प्रधानमन्त्रीले संसद, समिति र देशलाई जानकारी दिनुपर्नेसमेत बताए ।
उनले भ्रमणमा देशलाई उचित हुने भन्दा बाहेक अन्य कुनै पनि गतिविधिहरू सरकारले गर्न नहुनेतर्फ सचेत गराए । अध्यक्ष नेपालले असंग्लन परराष्ट्र नीतिबाट सरकार अविचलित भएर अगाडि बढ्न नहुने बताए ।
उनले भने, ‘नेपालले कुनै पक्षमा नलाग्ने असंग्लन परराष्ट्र नीति लिएका छौं । त्यो नीतिमा सरकार अविचलित रूपमा अगाडि बढ्नुपर्छ । सरकारले आफ्नो नीतिका विषयमा सबैलाई स्पष्ट रूपमा राख्नुपर्छ । यो मामिलामा कुनै किसिमको दबाब, धम्की हामीलाई स्वीकार्य हुन सक्दैन ।’
उनले नेपालको वैदेशिक ऋण साहयता लिने कुरामा धेरै त्रुटिहरू रहेको भन्दै यसको पनि परिर्वतन गर्न पाए हुने बताए ।
