खेलकुद मन्त्री गहतराज सहितको टोली रुस प्रस्थान
अखबार टुडे
प्रकाशित:
२०७९, ३० जेष्ठ

काठमाडौं, ३० जेठ । युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराजको नेतृत्वमा नेपाल बक्सिङ संघ पदाधिकारीसहित ८ सदस्यीय टोली रुस प्रस्थान गरेका छन् ।

बक्सिङ महासंघ रसिया र रसियाका खेलकुद मन्त्री ओलेग भी म्याटिसिनको औपचारिक निमन्त्रणामा मन्त्री गहतराजसहितको टोली पाँच दिने भ्रमणका लागि सोमबार रुस प्रस्थान गरेका हुन् ।

रुस प्रस्थान गर्नेमा खेलकुद मन्त्री महेश्वरजंग गहतराज (अथक), मन्त्रालयका सचिव डा दामोदर रेग्मी, राष्ट्रिय खेलकुद परिषदका विभागीय प्रमुख मधुसुदन बस्नेत, मन्त्रीका निजी सचिव रोशनकुमार सुनार, बक्सिङ संघका अध्यक्ष राम अवाले, उपाध्यक्ष अर्जुनबहादुर केसी, संघका सदस्य मानबहादुर भण्डारी र प्रवक्ता एवं अन्तर्राष्ट्रिय सम्बन्ध संयोजक श्यामकाजी अवाले छन् ।

बक्सिङ संघका प्रवक्ता अवालेका अनुसार दुवै देशको खेलकुद विकासमा सहकार्य गर्ने उद्देश्यले रसिया प्रस्थान गरिएको हो ।

भ्रमणका क्रममा नेपाल र रसियाका बक्सिङ खेलाडीहरुको प्रशिक्षण आदान–प्रदान, नेपाल–रसियाका बक्सिङ प्रशिक्षकहरुको क्षमता विकासमा सहयोग गर्ने, नेपाल–रसियाबीच मैत्रीपूर्ण बक्सिङ एवं अन्य खेलकुद प्रतियोगिता आयोजना एवं सहभागीता गराउने, रसियाको स्पोर्ट्स साइन्स कलेजमा नेपाली विद्यार्थीहरुलाई छात्रबृत्ती व्यवस्था गर्ने, हिमालय क्षेत्र पदयात्रा एवं दौडको आयोजना गर्ने, खेलकुदबाट पर्यटन प्रवर्धनलगायतका विधाहरुमा र नेपालमा हाई अल्टिच्युट बक्सिङ ट्रेनिङ सेन्टर स्थापना गर्ने विषयमा छलफल हुनेछ ।

भ्रमण दलले रसियाका खेलकुद मन्त्रीसँग विशेष भेटघाटको साथै अन्तराष्ट्रिय बक्सिङ संघका अध्यक्ष उमार क्रेमलेम, बक्सिङ महासंघ रसियाका महासचिवसँग भेटघाट गर्नेछ ।

टोली जुन १५ मा बक्सिङ प्रतियोगितामा सहभागी हुने कार्यक्रम रहेको छ। भ्रमण टोली जुन १६ मा दुबई हुँदै स्वदेश फर्कने कार्यक्रम रहेको छ । रुस र युक्रेनबीच लडाइँ जारी रहँदा युक्रेनको पक्षमा विज्ञप्ति नै जारी गरेका प्रधानमन्त्री शेरबहादुर देउवाको अनुमतिमा नै मन्त्री गहतराज रुस जानुलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

प्रतिक्रिया