रुस युक्रेन वार : पूर्वी युक्रेनमा भीषण युद्ध, पूर्वब्रिटिस सैनिक मारिए
अखबार टुडे
प्रकाशित:
२०७९, २९ जेष्ठ

काठमाडौ., २९ जेठ । युक्रेनमा जारी लडाइँमा एक जना पूर्वब्रिटिश सैनिक मारिएका छन् । बीबीसीका अनुसार ती सैनिक मारिएको उनको परिवारले जनाएका हुन् ।

जोर्डन गेट्लीले गएको महिना ब्रिटिश सेना छाडेका थिए । उनी हालैका दिनमा भीषण लडाइँ भइरहेको पूर्वी युक्रेनको सेभेरोडोनेट्स्कमा मारिएको समाचारमा जनाइएको छ ।

युक्रेनको पक्षमा लड्दालड्दै ज्यान गुमाउने उनी दोस्रो ब्रिटिश नागरिक हुन् । यसअघि स्कट सिब्लीको गएको एप्रिलमा ज्यान गएको थियो । उनको परिवारले जोर्डन ‘नायक भएको र सदैव हृदयमा रहने’ जनाएका छन् ।

एउटा फेसबुक पोस्टमा उनका पिताले युक्रेनमाथिको रुसी हमलाको प्रतिरोधमा जोर्डनले स्थानीय फौजहरूलाई तालिम दिएको बताएका छन् । उनले सेभेरोडोनेट्स्कको प्रतिरक्षामा अग्रमोर्चामा लड्दालड्दै आफ्नो छोराले ज्यान गुमाएको बताएको बीबीसीको लेखेको छ ।

रुसी पकड बलियो बन्दै
यसैबीच रुसी फौजहरूले पूर्वी युक्रेनको सेभेरोडोनेट्स्क सहरमा आफ्नो पकड बिस्तारै बलियो बनाउँदै लगेको यूकेको रक्षा मन्त्रालयले जनाएको छ । त्यहाँ घेराबन्दीमा परेको एउटा रासायनिक उद्योगमा बङ्करहरूमा सयौँ गैरसैनिकहरूले आश्रय लिइरहेका विवरण आएका छन् ।

क्षेत्रीय गभर्नर सेर्हेई हाइडाईले रुसी गोलाबारीका कारण छिमेकी लिसिचान्स्कसँग जोड्ने दोस्रो पुल क्षतिग्रस्त भएको बताए । उनका अनुसार अन्तिम पुल भीषण गोलाबारीमा परिरहेको छ ।

हप्तौँदेखि ठूलो लडाइँको केन्द्रमा एजोट रासायनिक उद्योग रहेको समाचारहरुमा जनाइएको छ । गभर्नर हाइडाईले हालसम्म ज्यान गुमाएका मानिसहरूको संख्या यकिन गर्न नसकिएको बताएका छन् ।

पश्चिम युक्रेनका अधिकारीहरूले छोर्टकिभमा गरिएको क्षेप्यास्त्र आक्रमणमा २० जनाभन्दा बढी घाइते भएको जनाएका थिए ।
रुसी रक्षा मन्त्रालयले पश्चिमा देशहरूले दिएको अस्त्र भण्डारलाई ब्ल्याक सीमा रहेको आफ्नो युद्धपोतद्वारा प्रहार गरिएको क्षेप्यास्त्रले निशाना बनाएको जनाएको छ ।

यस्तै, यूकेको रक्षा मन्त्रालयले आफ्नो पछिल्लो अद्यावधिक विवरणमा रुस सञ्चार र गोलाबारीमा बलियो देखिएको भन्दै उसले सेभेरोडोनेट्स्क क्षेत्रमा भूभागहरू कब्जा गर्दै आफूलाई बलियो बनाउँदै लगेको उल्लेख गरिएको छ । त्यसमा रुसले युक्रेनमा तैनाथ हुने फौजी युनिटहरू थप्ने प्रयासहरू अघि बढाएको पनि जनाइएको छ ।

हालैका हप्तामा रुसले तेश्रो सैनिक बटालियन परिचालन गर्ने तयारी अघि बढाएको भनिएको छ ।

लुहान्स्क क्षेत्रका गभर्नर हाइडाईले सेभेरोडोनेट्स्कको अवस्था एकदमै जटिल रहेको र अबको दुई दिन निर्णायक हुने बताएका छन् । उनले अहिलेसम्म रुसी फौजहरूले सहरमा नियन्त्रण कायम गर्न नसकेको बताए । उनका अनुसार उक्त सहरसँगको सम्पर्क पूर्ण रूपमा विच्छेद गर्न रुसले चाहेको छ ।

मानिसहरूलाई त्यहाँबाट बाहिर लैजान नसकियोस् र थप अस्त्र तथा सुरक्षाकर्मी ल्याउन नमिलोस् भन्ने उद्देश्यले त्यसो गर्न खोजिएको उनले बताएका छन् ।

उनले रुसले तयार राखेका आफ्ना सबै सैनिकहरूलाई आज वा भोलि परिचालित गरेर सेभेरोडोनेट्स्क नियन्त्रणमा लिन सक्ने बताए ।

यसैबीच रुसी रक्षा मन्त्रालयले आफूले किएभलाई अमेरिका र युरोपेली देशहरूले उपलब्ध गराएका ट्याङ्कलाई नष्ट गर्न सक्ने क्षमता भएको क्षेप्यास्त्र प्रणाली र अरू अस्त्रहरू राखिएको एउटा भण्डार नष्ट गरिदिएको जनाएको छ ।

प्रतिक्रिया