भारतकी चर्चित फेसन डिजाइनर प्रत्युषाको शंकास्पद मृत्यु : नोटमा भेटियो, ‘म डिप्रेशनमा छु’
अखबार टुडे
प्रकाशित:
२०७९, २९ जेष्ठ

काठमाडौं, २९ जेठ । भारतकी चर्चित फेसन डिजाइनर प्रत्यूषा गरिमेलाको शंकास्पद मृत्यु भएको छ । भारतीय सञ्चार माध्यमका अनुसार ३५ वर्षीया प्रत्यूषा तेलङगानास्थित बन्जारा हिल्समा आफ्नै घरको बाथरुममा मृत अवस्थामा भेटिएकी थिइन् ।

उनको कोठाबाट एउटा कार्बन मोनोअक्साइडको सिलिन्डर बरामद भएको बताइएको छ । प्रहरीले शंकास्पद मृत्यु भएको भन्दै उजुरी दर्ता गराएको छ ।

प्रहरीका अनुसार मृत्यु हुनुभन्दा अगाडि उनले कार्बन मोनोअक्साइड सुँघेकी थिइन् । उनी डिप्रेशनमा रहेको बताइएको छ । थप छानबिन गर्न उनको शव पोस्टमार्टमका लागि उस्मानिया हस्पिटलमा पठाइएको भारतीय मिडियाले उल्लेख गरेका छन् । उक्त घटनाको जानकारी प्रत्यूषाको सेक्यूरिटी गार्डले प्रहरीलाई दिएका थिए ।

बञ्जारा प्रहरी स्टेशनका इन्स्पेक्टर नागेश्वर रावका अनुसार प्रत्यूषाको कोठाबाट एक नोट समेत फेला परेको छ । उनले नोटमा कसैलाई दोष लगाएकी छैनन् ।

प्रहरीका अनुसार उनले ‘म निकै एक्लो महसुस गरिरहेको छु र डिप्रेशनमा छु’ लेखेकी छन् । डिप्रेशनकै कारण आत्महत्या गरेर उनको मृत्यु भएको आशंका गरिएको छ । यस मुद्दामा प्रहरीले अनुसन्धान सुरु गरिसकेको छ ।

प्रत्यूषाले अमेरिकाबाट फेसन डिजाइन पढेकी थिइन् । त्यसपछि उनले हैदराबादबाट फेसन डिजाइनरका रुपमा करियर सुरु गरेकी थिइन् । सन् २०१३ मा उनले आफ्नो नामको एक लेबल पनि सुरु गरेकी हुन् ।

उनले बलिउड र दक्षिण भारतीय अभिनेत्रीका लागि ड्रेस डिजाइन गर्दै आएकी थिइन् । माधुरी दिक्षित, रवीना टण्डन, काजोल, परिणिती चोपडा, हुमा कुरैशी, श्रीया सरन, काजल अग्रवाल, जूही चावला, गौहर खान, नेहा धुपिया, भूमि पेडनेकरलगायतका अभिनेत्रीहरूका लागि उनले ड्रेस डिजाइन गर्दै आएकी थिइन् ।

प्रतिक्रिया