काठमाडौं, २९ जेठ । राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले समर्थकहरुलाई चिन्ता नलिन आग्रह गरेका छन् ।
उनले सामाजिक सञ्जाल फेसबुकमार्फत आफू गोर्खाली भएको कारण केही नुहने भन्दै समर्थकहरुलाई चिन्ता नलिन आग्रह गरेका हुन् । अल्मुताइरीले फेसबुकमा लेखेका छन्, ‘म गोर्खाली हुँ, चिन्ता गर्नु पर्दैन ।’
एएफसी एसियन कप २०२३ अन्तर्गत तेस्रो चरणको छनोटमा समूह ‘ए’ मा रहेको नेपालले शनिबार राति आफ्नो दोस्रो खेल खेल्यो । अल्मुताइरी नेपाल र कुवेत बीचको खेल दौरान बेहोस भएर मैदानमा लडेका थिए । उक्त खेलमा नेपाल कुवेतसँग ४–१ गोल अन्तरले पराजित भएको थियो ।
बेहोस भएका उनलाई मैदानमै अक्सिजन दिएको टेलिभिजन लाइभमा देखिएको थियो। अचेत अवस्थामा रहेका अलमुताइरीलाई तत्काल अस्पताल लगिएको थियो । अखिल नेपाल फुटबल संघ (एन्फा) का अनुसार अलमुताइरीको अवस्था अहिले सामान्य अवस्थामा फर्किएको छ । उनी अहिले अस्पतालबाट डिस्चार्ज भएका छन् ।
अलमुताइरी कुवेतका नागरिक हुन्। कुवेतमै भएको खेलमा बेहोस भएका अलमुताइरीको स्वास्थ्यको विषयमा कुवेतको फुटबल संघले चासो देखाएको छ । कुवेतको फुटबल संघका उपाध्यक्ष हइफ अल दाहानी तथा कुवेतका प्रशिक्षक अब्दुल्लाह अहल शाहनीले अलमुताइरीको स्वास्थ्य अवस्थाको बारे हस्पिटलमै गएर जानकारी लिएका थिए ।
शनिबार राति कुवेतसँग पराजित भएसँगै नेपालको एसियन कपमा छनोट हुने सम्भावना पनि लगभग सकिएको छ। अब नेपालले अन्तिम खेलमा मंगलबार राति इन्डोनेसियासँग खेल्नेछ।