प्रधानमन्त्रीसँग एमालेको प्रश्न : अमेरिका भ्रमणको औचित्य के हो ?
अखबार टुडे
प्रकाशित:
२०७९, २९ जेष्ठ

काठमाडौं, २९ जेठ । प्रमुख प्रतिपक्षी नेकपा एमालेले मुलुकलाई भूराजनीतिक द्वन्द्वको थलो बनाउन लागिएको भन्दै सरकारसँग जवाफ माग गरेको छ ।

आइतबार प्रतिनिधिसभा बैठकमा विशेष समय लिएर बोल्दै एमाले नेता एवं पूर्वपरराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले प्रधानमन्त्रीको अमेरिका भ्रमण, अमेरिकी सेनाको नेपालमा उपस्थिति लगायतका विषयमा प्रश्न उठाएका हुन् । प्रधानमन्त्रीको भ्रमणको औचित्य पुष्टी गर्न माग गर्दै ज्ञवालीले परराष्ट्र सम्बन्धका आधारहरु नभत्काउन माग गरेका छन् ।

‘नेपालको राष्ट्रियता, सार्वभौमसत्ता, भौगोलिक अखण्डताको रक्षा हाम्रो परराष्ट्र सम्बन्धको मूल आधार हुन जरुरी छ’ उनले भने, ‘यससँग बाँझिने गरी तालिम वा अरु कुनै नाममा विदेशी सेनाको उपस्थिति हाम्रो संविधानले स्वीकृति दिदैन । नेपाललाई कुनैपनि अर्थमा भूराजनीतिक द्वन्द्वको थलो बनाइनु हुँदैन ।’

प्रधानमन्त्रीको अमेरिका भ्रमणको तयारी दुवै देशका सैन्य निकायबाट भइरहेको भन्दै ज्ञवालीले कुन हैसियतमा भ्रमणमा जान लागेको भन्ने तथ्य संसदलाई जानकारी गराउन मागसमेत गरेका छन् ।

उनले भने, ‘यो भ्रमणको समग्र चाँजोपाँचोमा न अमेरिकाको स्टेट डिपार्टमेन्ट अग्रपंक्तिमा देखिन्छ न नेपालको परराष्ट्र मन्त्रालय देखिन्छ । भ्रमणको चाँजोपाजो मिलाइरहेको अमेरिकाको मिनिष्ट्री अफ डिफेन्सले र नेपालको रक्षा मन्त्रालय वा सेना त्यसमा जोडिएको देखिन्छ । यसले गम्भीर प्रश्न उठाएको छ । यो भ्रमण प्रधानमन्त्रीको हैसियतमा हुँदैछ वा रक्षामन्त्रीको हैसियतमा ?’

प्रतिक्रिया