डेढ वर्षभित्र विद्युत‍्का तार ‘अन्डरग्राउन्ड’ हुन्छ : मेयर बालेन
अखबार टुडे
प्रकाशित:
२०७९, २९ जेष्ठ

काठमाडौं, २८ जेठ । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह ‘बालेन’ले महानगर क्षेत्रमा विद्युतका तार डेढ वर्षभित्र ‘अन्डरग्राउन्ड’ गरिने बताएका छन् ।

प्रमुख शाहले आइतबार महानगर कार्यपालिकाको दोस्रो बैठकमा सडक, विद्युत् र खानेपानीका प्रमुखलाई राखेर आफूले बैठक आयोजना गरेको र सो बैठकमा विद्युत् प्राधिकरणका तर्फबाट यस्तो प्रतिबद्धता जनाइएको बताए ।

हरेक महिनाको पहिलो सोमबार सडक, विद्युत्, खानेपानी लगायतका निकायका प्रमुखसँग बैठक आयोजना गर्ने र त्यसमा एक आपसबिच सहकार्यको समीक्षा गरिने उनले बताए ।

सडक, खानेपानी, विद्युत् प्राधिकरण लगायतका निकायले गरेका कामको अनुगमन महानगरले गर्ने र एकीकृत योजनाका अनुसार ती सबै निकायले समन्वयात्मक ढङ्गले काम गर्ने उनले बताए ।

मेयर शाहले शौचालय सर्वसाधारण जनताका लागि प्रयोग गर्न दिने भनेका सरकारी, निजी संघसंस्थालाई कर छुट दिन नसकिने पनि बताए ।

‘हामीले कर गरेर शौचालय प्रयोग गर्न दिनु भनेको होइन । उहाँहरूले हामी सेवा दिन चाहन्छौं भन्नुभएको हो,’ उनले भने, ‘उहाँहरूलाई कर छुट दिन सकिन्न । रेष्टुरेन्टलाई कर छुट दिँदा बैंकलाई दिन सकिन्छ कि सकिन्न भन्ने आउँछ ।’

कसैलाई कर छुट दिने कसैलाई नदिने गरी महानगरले भेदभाव गर्न नमिल्ने उनले बताएका छन् । महानगरका तर्फबाट हरेक चार महिनामा ती सार्वजनिक प्रयोग गर्न दिइएका शौचालयमा सरसफाइ सामग्री दिने उनले बताए ।

उनले कार्यालयका सार्वजनिक शौचालय भने कार्यालय खुलेको बेला मात्रै खुल्ने बताए । महानगरले बनाएका सार्वजनिक शौचालय भने २४ सै घन्टा खुल्ने पनि उनले बताए ।

प्रतिक्रिया