माइलाले करिब ९ घण्टा तार चढ्दा प्राधिकरणलाई झण्डै करोड घाटा
अखबार टुडे
प्रकाशित:
२०७९, २८ जेष्ठ

काठमाडौं, २८ जेठ । एक जना सन्की व्यक्तिले गर्दा शनिबार दिनभर जस्तै स्थानीयलाई तनाव मात्र दिएनन्, नेपाल विद्युत प्राधिकरणलाई करिब एक करोड घाटा लगाए ।

नुवाकोटको ककनी गाउँपालिकामा त्रिशुली ‘थ्रीए’को विद्युत प्रसारण लाइनको तारमा एक व्यक्ति चढेपछि स्थानीयदेखि प्रहरी प्रशासनसम्मलाई तनाव भयो ।

शनिबार बिहान करिब १० बजे बेलकोटगढी नगरपालिका–१३ घलेगाउँका ४५ वर्षीय माइला विक प्रसारण लाइनको विद्युतीय पोलमा चढेका थिए । ती व्यक्ति प्रशारण लाइनको तारमा चढेपछि विद्युत आपूर्ति समेत बन्द गर्नुपरेको थियो । उनलाई करिब ९ घण्टापछि शनिबार साँझ काठमाडौंबाट गएको नेपाली सेनाको रेञ्जर गणको उद्धार टोलीले नियन्त्रणमा लिएर भुइँमा झारेको थियो ।

नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीय वासिन्दाले उनलाई प्रसारण लाइनबाट ओराल्ने कोशिस गर्दा पनि असफल भएपछि साढे ६ बजेतिर नेपाली सेनाको हेलिकोप्टरसहितको उद्धार टोली पुगेको थियो । त्यसपछि नेपाली सेनाले विकलाई उद्दार गरेको नुवाकोटका प्रहरी प्रमुख रामप्रकाश शाहले जानकारी दिए ।

विक प्रशारण लाइनमा चढेको देखेपछि स्थानीयले प्रशासनलाई भनेर विद्युत लाइन बन्द गराउन लगाएका थिए । उनलाई स्थानीय तथा प्रहरीले खाना खुवाउन बोलाएर पनि तल झार्ने प्रयास गरेका थिए । तर उनी झरेनन् ।

यसरी दिनभर जस्तो विद्युत आपूर्ति बन्द हुँदा नेपाल विद्युत प्राधिकरणले भारतबाट आपूर्ति गरेको थियो । दिनभर विद्युत बन्द हुँदा एक करोडको हाराहारीमा क्षति पुगेको प्रवक्ता सुरेशबहादुर भट्टराईले जानकारी दिए ।

प्रतिक्रिया