अप्रेसन गरेर आइसियुमा बस्दा डाक्टर र नर्सहरुलाई गीत गाउन लगाउँथे : ओली
अखबार टुडे
प्रकाशित:
२०७९, २८ जेष्ठ

काठमाडौं, २८ जेठ । नेकपा एमालेका अध्यक्ष केपी शर्माले राष्ट्रिय स्वाधीनतासहित अगाडि बढ्न देशका सामु चुनौती रहेको बताएका छन् ।

शनिबार काठमाडौंमा एमालेलाई स्थानीय चुनावमा सहयोग गर्ने कलाकारहरुको सम्मान गर्दै अध्यक्ष ओलीले राष्ट्रिय स्वाधीनतामा कसैका पनि दूष्प्रभावहरु पर्न नहुने समेत बताएका हुन् ।

कसैले पनि डराएर धम्काएर, फकाएर फुलाएर देशको स्वाभिमानमाथि तलमाथि गरेको स्वीकार नहुने उनको भनाइ छ । ओलीले बिकासित समाज बनाउन एमाले बाहेक कसैले अगुवाई गर्न नसक्ने दावी गरे ।

अध्यक्ष ओलीले देश बनाउने नीति एमालेको बाहेक अरु कसैको नरहेको बताए । एमाले जस्तो देशको हितमा बोल्ने र काम गर्ने पार्टी अरु कुनै नरहेको उनले बतए । सवै मिलेर देशलाई माया गर्नुपर्ने उनले धारणा राखे ।

सोही क्रममा उनले कलाकार देशका प्रशंसाका पात्र भएको बताए । अध्यक्ष ओलीले भने, ‘कलाकार भनेका प्रशंसाका पात्र हुन् । कलाकारले सधै सकरात्मक सन्देश दिइरहेका हुन्छन् । मनोरञ्ज्न दिँदै आएका छन् । शान्तिका लागि विकासका लागि कलाकार प्रशंसाका पात्र हुन् ।’

कार्यक्रममा अध्यक्ष ओलीले आफू अस्पतालमा उपचाररत हुँदा उपचारमा संलग्न डाक्टर, नर्सहरूलाई गीत गाउन लगाउने गरेको समेत स्मरण गरे । ‘तपाइँहरूको सिर्जनाको के अर्थ हुन्छ ? म अप्रेसन गरेर आइसियुमा बसेको थिए । तर त्यहाँ मैले गाउन जाने पनि नजाने पनि डाक्टर नर्स र त्यहाँ काम गर्ने सबैले गीत गाउनै पर्ने र सुनाउनै पर्ने भनेर लगाउँथे’ उनले भने, ‘जाने पनि नजाने पनि डाक्टर नर्सहरूले गीत गाउनुपर्दथ्यो किनकि बिरामीसँग झगडा गर्न हुँदैन गाउनैपर्ने थियो ।’

अध्यक्ष ओलीले काममा व्यस्त भएपनि डाक्टर चिकित्सकहरूले आफूलाई जाँच्नुभन्दा पहिले गीत सुनाउने गरेको बताए ।
पूर्वप्रधानमन्त्री समेत रहेका ओलीले भने, ‘उनीहरू काममा व्यस्त हुन्थे तर मैले तिमीहरूले गीत गाउनैपर्छ भन्थे । डाक्टर जाँच्न आउँछ पहिले एउटा गीत सुनाउनुस् अनि मात्रै जाँच्ने भन्थे । नर्सले कुनै इन्जेक्सन लगाउनु छ भने पहिले गीत भन्थे । जाने पनि नजाने पनि डाक्टर नर्सहरूले गीत गाउँथे ।’ बिरामी अवस्थामा पनि गीत सुन्दा आनन्द हुने उनको भनाइ छ ।

प्रतिक्रिया