प्रशारण लाइनमा एक व्यक्ति चढेपछि त्रिशुली आयोजनाको विद्युत उत्पादन बन्द
अखबार टुडे
प्रकाशित:
२०७९, २८ जेष्ठ

काठमाडौं, २८ जेठ । नुवाकोटको ककनीमा एक जना विजुली प्रशारण लाइनमा चढेपछि माथिल्लो त्रिशुली थ्री ए जलविद्युत आयोजनाको उत्पादन बन्द गरिएको छ ।

ककनी गाउँपालिका–७ स्थित त्रिशुली मातातीर्थ प्रशारण लाइनमा शनिबार एक व्यक्ति चढेपछि प्राधिकरणले आफ्ना विद्युत आयोजना बन्द गरेर प्रशारण लाइनमा विद्युत प्रवाह बन्द गरेको हो ।

प्रहरीका अनुसार बेल्कोटगढी नगरपालिका–१३ घलेगाउँका माइला विक प्रशारण लाइनको खम्बाबाट तारसम्म पुगेका हुन् । उनी बिहान नौ बजेदेखि तारमा समातेर बसिरहेका छन् । प्राधिकरणका प्रवक्ता सुरेश भट्टराईका अनुसार अहिले माथिल्लो त्रिशुली थ्री ए र त्यस नजिकैको खोलाबाट विद्युत उत्पादन बन्द गरिएको छ ।

प्रहरी र स्थानीयले उनलाई सकुशल तल ओर्लन आग्रह गरिरहेका छन् । तर उनले मानेका छैनन् । सम्झाई बुझाई गर्दा एक पटक तल झरिसकेको भएपनि फेरि माथि नै रोकिएको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रमुख रामप्रकाश शाहले बताए ।

प्रतिक्रिया