रुस-युक्रेन युद्ध : हतियारको अभाव झेल्दै युक्रेन, दैनिक एक सय बढी सेनाले ज्यान गुमाउँदै
अखबार टुडे
प्रकाशित:
२०७९, २७ जेष्ठ

काठमाडौं, २७ जेठ । करिब पाँच महिना यता जारी रुस–युक्रेन युद्धमा दैनिक १०० देखि दुई सयसम्म सैनिकले ज्यान गुमाइरहेको अन्तर्राष्ट्रिय समाचारहरुमा जनाइएको छ ।

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीका एक वरिष्ठ सल्लाहकारले बीबीसीलाई जनाएअनुसार युद्धको अग्रमोर्चामा दैनिक १०० देखि २०० को बीचमा सैनिकले ज्यान गुमाइरहेको छन् ।

पूर्वी डोन्बास क्षेत्रमा रुसी फौजको सामना गर्न सयौँ पश्चिमा युद्ध प्रणाली युक्रेनलाई आवश्यक रहेको मिखाइलो पोदोलियाकले बताएका छन् । तर, मस्कोसँग शान्तिवार्ता पुनः सुरु गर्न किभ तयार नभएको पनि उनले उल्लेख गरे ।

सिङ्गो डोन्बासमाथि नियन्त्रण गर्ने प्रयासमा रहेका रुसी फौजको निरन्तर बमबारीको युक्रेनी फौजले सामना गर्नुपरेको छ । रुसी फौजले पारमाणविक अस्त्रबाहेक लगभग सबै प्रणालीबाट हमला गरिरहेको पोदोलियाकले बीबीसीसँग बताएका छन् ।

युद्धमा युक्रेनतर्फ धेरै क्षति हुनुका कारण दुई पक्षबीच ‘प्रतिरक्षा गर्ने सामर्थ्य समान नहुनु’ भन्दै पश्चिमा देशहरूले थप अस्त्र उपलब्ध गराउनु पर्ने युक्रेनले आफ्नो माग दोहो¥याएको समाचारमा उल्लेख छ ।

‘हामीले अस्त्र माग गर्नु केवल मागका लागि मात्रै होइन‘ बरु युद्ध मैदानको स्थितिअनुसार तथ्यपरक माग हो’ पोदोलियाकको भनाइ उदृत गर्दै बीबीसीले जनाएको छ ।

रुसको सामना गर्न युक्रेनलाई १५० देखि ३०० वटासम्म रकेट प्रणाली चाहिएको उनको भनाइ छ । यो संख्या भनेको अहिलेसम्म युक्रेनले प्राप्त गरिसकेकोभन्दा बढी भएको बताइएको छ ।

बिहीवार युक्रेनी रक्षामन्त्री ओलेक्सी रेज्निकोभले युद्धमा दैनिक १०० जना सैनिकले ज्यान गुमाइरहेको र ५०० जना घाइते भइरहेको बताएका थिए ।

युक्रेनले ठूलो क्षति बेहोरिरहेको पृष्ठभूमिबीच रेज्निकोभले उच्च सङ्ख्यामा रुसी फौजले पनि क्षति बेहोरिरहेको दाबी गरेका छन् । लुहान्स्कका क्षेत्रीय गभर्नरले पनि रुसी फौजहरू झिँगाझैँ मरिरहेको दाबी गरे । यद्यपि, युक्रेनी फौजले अस्त्रहरूको व्यापक अभाव झेलिरहेको पोदोलियाकले जस्तै उनले पनि बताए ।

प्रतिक्रिया