एमाले छाडेर गएकालाई पार्टीमा स्वागत हुँदैन: अध्यक्ष ओली
अखबार टुडे
प्रकाशित:
२०७९, २७ जेष्ठ

विराटनगर, २७ जेठ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली जनताले आगामी प्रदेश र संसदीय निर्वाचनमा पार्टीलाई अधिक स्थानमा विजयी गराउने जिकिर गरेका छन् ।

विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले एमाले सङ्घीयता र लोकतन्त्रको रक्षा गर्न प्रतिबद्ध रहनाका साथै संविधान निर्माणमा महत्वपूर्ण भूमिका निभाएका कारण जनताले संसदीय निर्वाचनमा पहिलो पार्टी बनाउने जिकिर गरेका हुन् ।

अध्यक्ष ओलीले आगामी संसदीय निर्वाचनमा अन्य कुनै वामपन्थी पार्टीसँग गठबन्धन नहुने बताए । उनले मुलुकमा एमाले मात्र वामपन्थी पार्टी रहेको जिकिर गर्दै अन्य पार्टीहरु वामपन्थी नभएको आरोप लगाए ।

ओलीले नेकपा एकीकृत समाजवादीका कार्यकर्तालाई एमालेमा आए समाहित गरिने पनि बताए । उनले भने, ‘कार्यकर्ताहरूलाई पार्टी प्रवेशमा रोक लगाएका छैनौं । पार्टी छाडेर गएकाहरू पार्टी प्रवेश गर्न सक्नु हुन्छ तर स्वागत गर्ने चलन छैन ।’

उनले आफुले अन्य पार्टीका नेतालाई प्रधानमन्त्री बनाउने सम्बन्धमा कुनै आश्वासन नदिएको पनि बताए ।
उनले स्थानीय पालिकाको निर्वाचनले सबै निर्वाचनको स्थिति तय नगर्ने भन्दै सिट सङ्ख्याका हिसाबले केही कम आएर दोस्रो भए पनि लोकप्रिय मतका हिसाबले पार्टी पहिलो भएको जिकिर गरे ।

‘६ दल मिले; कुनै सिद्धान्त‚ विचार रहेन; जसरी भए पनि एमालेलाई हराउने एक मात्र सर्त रह्यो,’ उनले भने, ‘थोरै मतले सिट संख्याका आधारमा दोस्रो भयौं तर लोकप्रिय भोटमा एमाले अगाडि नै छ ।’

प्रतिक्रिया