मेयर बालेनको चिन्ता र दौडधुप : काठमाडौंको फोहोर कसरी व्यवस्थापन गर्ने ?
अखबार टुडे
प्रकाशित:
२०७९, २६ जेष्ठ

काठमाडौं, २६ जेठ । काठमाडौं महानगरको मेयरमा निर्वाचित भएसँगै बालेन साहको दौडधुप काठमाडौंको फोहोर व्यवस्थापन केन्द्रित छ । उनको पहिलो प्राथमिकता पनि फोहोर व्यवस्थापन नै हो । तर, संयोग नै हुनुपर्छ, बालेन मेयरमा आएयता काठमाडौंको फोहोर उठ्न सकेको छैन । जसले मेयर बालेनको चैन उडेको छ ।

मेयर साहले काठमाडौंको फोहोर व्यवस्थापन गर्ने पहल नगरेको होइन । उनी एक साता यता यसैमा केन्द्रित भएर भेटघाट र दौडधुप गरिरहेका छन् । तर, उनको दौडधुप जति अचाक्ली छ, उत्ति नै काठमाडौंका सडकका पेटी फोहोरका डंगुर चुलिँदै छ । विशेषगरी काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापन गर्ने स्थान नुवाकोट सिसडोलको बन्चरेडाँडास्थित ल्याण्डफिलमा स्थानीयले अवरोध गरेपछि समस्या झनै बढेको छ ।

मंगलबारदेखि काठमाडौंको फोहोर व्यवस्थापन गर्ने पहल भइरहेको भएपनि स्थानीयको अवरोधका कारण फोहोर उठ्न सकेको छ्रैन । तर, मेयर साहले आफ्नो पहलबाट पछि हटेका छैनन् । उनी विभागीय मन्त्रालयदेखि लिएर शीर्ष दलका नेताहरुसँग फोहोर व्यवस्थापनका लागि साथ मागिरहेका छन् ।

यसैक्रममा बिहीबार मेयर साहाले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटेका छन् । प्रधानमन्त्रीले नै साहलाई बोलाएर फोहोर व्यवस्थापनका विषयमा जानकारी लिएका हुन् ।

बिहीबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मेयर साहलाई बोलाएर देउवाले फोहोर व्यवस्थापनका विषयमा जानकारी लिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको हो ।

त्यसक्रममा प्रधानमन्त्री देउवाले काठमाडौंको फोहोर व्यवस्थापनमा देखिएको समस्या समाधान गर्न सरकारको साथ रहने बताएको जनाइएको छ ।

प्रधानमन्त्रीको सचिवालयका अनुसार देउवाले बञ्चरेडाँडका स्थानीयवासी र जनप्रतिनिधिसँग पनि छलफल गरेर दीर्घकालिन समाधान खोज्न सुझाव दिएका छन् । प्रधानमन्त्री देउवा र मेयर साहबीच यसअघि पनि भेट भएको थियो । तर, बिहीबार साँझको भेट फोहोर व्यवस्थापन केन्द्रित थियो ।

काठमाडौं उपत्यकाका सडकमा करिब दुई साता यता फोहोर उठ्न सकेको छैन । वर्खायाम लागेसँगै सडकमा फोहोर थप्रिएपछि महामारीको संकट आउने त्रास बढेको छ । त्यसैले पनि जति चाँडो फोहोर उठाउन जरुरी छ । वर्षाका कारण फोहोरका थुप्रा बग्न थालेपछि ट्राफिक व्यवस्थापनमा समेत समस्या आउन थालेको छ । साँघुरो सडकमा छेउमा फोहोर थुप्रिएपछि जामको समस्या झनै बढेको छ ।

प्रतिक्रिया