आफ्नो अन्तिम खेलमा नेपालले मलेसियालाई हरायो
अखबार टुडे
प्रकाशित:
२०७९, २६ जेष्ठ

काठमाडौं, २६ जेठ । आईसीसी १९ वर्षमुनिको महिला टी–२० विश्व कप एसिया छनोटअन्तर्गत मलेसियाविरुद्धको आफ्नो अन्तिम खेलमा नेपालले जित हासिल गरेको छ ।

मलेसियाको युकेएम ओभल क्रिकेट मैदानमा आज भएको आफ्नो अन्तिम खेलमा नेपालले घरेलु टोली मलेसियालाई २५ रनले पराजित गरेको हो । यस खेलसँगै नेपालको विश्वकप खेल्ने सपना सकिएको छ ।

नेपालले छनोटमा ६ अङ्क जोड्दै तेस्रो स्थानमा रह्यो । नेपालले ५ खेलमा ३ जित र २ हार व्यहोरेको थियो । नेपालले पहिलो खेलमा कतारलाई ७९ रनले हराएको थियो भने दोस्रो खेलमा संयुक्त अरब इमिरेट्सँग (युएई) १० विकेटले पराजित भएको थियो ।
त्यस्तै तेस्रो खेलमा नेपालले भुटानलाई ४ विकेटले हराएको थियो भने चौथो खेलमा नेपाल थाइल्याण्डसँग ४९ रनले पराजित भएको थियो ।

आजको खेलमा नेपालले दिएको ८७ रनको विजयी लक्ष्य पछ्याएको मलेसियाले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर ६१ रनमा समेटियो । मलेसियाको लागि एल्सा हन्टरले सर्वाधिक २८ रन जोडिन् । त्यसबाहेक अन्य ब्याटरले उत्कृष्ट खेल प्रदर्शन गर्न सकेनन् । नेपालकी कप्तान कृतिका मरासिनीले दुई विकेट लिइन् भने मनिषाकुमारी उपाध्यायले एक विकेट लिइन् ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ थालेको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर ८६ रनको योगफल बनाएको थियो । नेपालका लागि अञ्जली विश्वकर्माले सर्वाधिक ३३ रनको योगदान दिइन् भने आश्मा पुलामी मगरले २६ रन जोडिन् ।

विश्व कप क्रिकेट लिग टु: नेपाल र ओमान खेल्दै
आईसीसी पुरुष क्रिकेट विश्व कप लिग टु अन्तर्गतको श्रृङ्खलाका लागि अमेरिकामा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले आज ओमानसँग खेल्दै छ ।

खेल नेपाली समय अनुसार राति सवा ९ बजे शुरु हुनेछ । नेपाल आज ओमानलाई हराउँदै श्रृङ्खलामा सुखद सुरुवात गर्न चाहन्छ । श्रृङ्खला अन्तर्गत नेपालले दोस्रो खेल अमेरिकासँग आउँदो ३० गते खेल्नेछ । नेपालले तेस्रो खेलमा फेरि ओमानसँग ३१ गते र अन्तिम खेलमा नेपालले अमेरिकासँग असार १ गते खेल्ने छ । नेपाल अहिले १२ खेल्मध्ये छ मा जित हात पारेको छ । नेपाल छैठौं स्थानमा रहेको छ ।

प्रतिक्रिया