बञ्चरेडाँडामा तनाव: १० प्रहरी घाइते, एक दर्जन बढी स्थानीय नियन्त्रणमा
अखबार टुडे
प्रकाशित:
२०७९, २५ जेष्ठ

काठमाडौं, २५ जेठ । काठमाडौं उपत्यकाको फोहोर बोकेका ट्रकलाई आज पनि बञ्चरेडाँडाका स्थानीयले अवरोध गरेपछि स्थिति तनावग्रस्त भएको छ ।

बुधबार पनि स्थानीयले अवरोध गरेपछि प्रहरीले ६ राउण्ड अश्रुग्यास हानेको छ भने स्थानीयले ढुंगामुढा गरेका छन् । सो क्रममा भएको झडपमा १० जना प्रहरी घाइते भएका छन् भने १८ जना स्थानीयलाई प्रहरीले नियन्त्रण्मा लिएको छ ।

त्यहाँ पुगेका एक प्रहरी अधिकृतका अनुसार स्थानीयका अवरोधकाबीच २ वटा ट्रक फोहोर फाल्ने ठाउँमा पठाइएपनि फोहोर बोकेर आएका गाडी बीच बाटो मै छन् । अहिलेसम्म फोहोर लगिसकिएको छैन ।

सोमबार रातिको सहरी विकासमन्त्री रामकुमारी झाँक्री, काठमाडौंका मेयर बालेन शाह, उपमेयर सुनीता डंगोल ललितपुरकी उपमेयर मञ्जली शाक्यलगायत सम्बन्धित गाउँपालिका र नगरपालिकाका अध्यक्ष र मेयरहरु तथा पदाधिकारीहरु मिलेर फोहोर फाल्न दिने सम्झौता भएपनि स्थानीयले भने मंगलबार अवरोध गरेका थिए ।

सम्झौताअनुसार बञ्चरेडाडाँमा फोहोर खसालेपछि १५ सेन्टिमिटर अग्गो हुने गरी माटोले पुर्नुपर्ने, दुर्गन्ध हटाउन नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानको सिफारिसमा १० दिनभित्र जैविक उपचारको विधि लागु गर्नुपर्ने, फोहोर संकलन गर्दा त्यसको वर्गीकरण गर्नुपर्ने, बञ्चरेडाडाँमा फोहोर फाल्दा त्यसबाट प्रभावित हुने क्षेत्रका जग्गाजमीन अधिग्रहण प्रक्रिया सुरु गर्नुपर्ने, एक वर्षभित्रमा स्थानीय ५ वटा सडकहरु निर्माण सम्पन्न गर्नुपर्ने, स्थानीय नदी नियन्त्रण, मन्दिर र सामुदायिक भवन निर्माण गर्नुपर्ने तथा वृक्षारोपण गर्नुपर्नेलगायत गनुपर्ने रहेको छ ।
तर जनप्रतिनिधि र फोहोर व्यवस्थापन पक्षबीच भएको समझौतालाई स्थानीयले मान्यता दिएका छैनन् ।

प्रतिक्रिया