निःशुल्क विद्युतीय चुल्हो वितरण गर्न काठमाण्डौंका विद्यार्थीलाई निवेदन आह्वान
अखबार टुडे
प्रकाशित:
२०७९, २५ जेष्ठ

काठमाडौं, २५ जेठ । वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रले लोपोन्मुख, आदिवासी जनजाति तथा दलित वर्गका विद्यार्थीलाई विद्युतीय चुल्होका लागि आवेदन दिन आग्रह गरेको छ ।

केन्द्रले आज एक सूचना गर्दै काठमाण्डौबाहिरबाट आएर भाडामा बसेका स्नातक र स्नातकोत्तर तहमा अध्ययन गर्ने विद्यार्थीलाई आवेदन दिन आग्रह गरेको हो ।

तोकिएको समूहका विद्यार्थीले शिक्षण संस्थाको सिफारिस, परिचय पत्रको प्रतिलिपिसहित आउँदो असार ९ गतेभित्र केन्द्रमा मागपत्र पेश गर्न सक्नेछन् ।

सरकारी क्याम्पसमा अध्ययन गरेका विद्यार्थीको मागका आधारमा निःशुल्क विद्युतीय चुल्हो वितरण हुने केन्द्रका नायब कार्यकारी निर्देशक नवराज ढकालले जानकारी दिए ।

केन्द्रले यसअगाडि दुर्गम क्षेत्रबाट काठमाण्डौमा आएर अध्ययन गरेका विद्यार्थीबाट ८ हजार ३ सय माग सङ्कलन गरेको छ । उनीहरुलाई यो आर्थिक वर्षभित्र चुल्हो वितरण गरिने केन्द्रले जनाएको छ ।

प्रतिक्रिया