अमेरिकी प्यासिफिक कमान्डका जर्नेल नेपाल आउँदै
अखबार टुडे
प्रकाशित:
२०७९, २५ जेष्ठ

काठमाडौं, २५ जेठ । अमेरिकी सेनाका प्यासिफिक कमान्ड कमान्डिङ वरिष्ठ जर्नेल ‘चार्ल्स ए फ्लाएन’ चार दिने नेपाल भ्रमणमा आउने भएका छन् ।

अमेरिकी सेनाका वरिष्ठ जर्नेल फ्लाएनले २६ देखि २९ असारसम्म नेपाल भ्रमणमा आउने नेपाली सेनाका प्रवक्ता सहायकरथी नारायण सिलवालले जानकारी दिए ।

सिलवालका अनुसार फ्लाएनको भ्रमण तय भए पनि प्रधानसेनापति शर्मासँग भेट गर्ने बाहेकको अन्य कार्यतालिका स्वीकृत भइसकेको छैन । उनी अमेरिकी सेनाको विशेष विमानबाट जेठ २६ गते बिहीबार नेपाल आउने छन् ।

नेपालबाट प्रधानमन्त्री शेरबहादुर देउवाको अमेरिका भ्रमणको तयारी चलिरहेको र प्रधान सेनापतिको भ्रमण तय भइसकेको अवस्थामा उनी नेपाल भ्रमणमा आउन लागेका हुन् ।

मन्त्रिपरिषदले प्रधानसेनापति प्रभुराम शर्मा संयुक्त राज्य अमेरिकाको औपचारिक निमन्त्रणामा १३ देखि १७ असारसम्म अमेरिकाको वासिङ्टन डीसी पुगेर फर्कने भ्रमण कार्यक्रम स्वीकृत गरिसकेको छ ।

त्यसअघि शर्माको ४ देखि १० असारसम्म संयुक्त राष्ट्रसंघको आह्वानमा शान्ति स्थापनार्थ नेपाली शान्ति सैनिकहरू तैनाथ रहेको लेबनान र सिरियास्थित शान्ति मिसनहरूको निरीक्षण भ्रमण गर्ने कार्यक्रम छ ।

नेपाली सेनाले उच्चस्तरीय सैनिक नेतृत्वबाट नियमित रुपमा हुने गरेको यस प्रकारको भ्रमण, विगत लामो समयदेखि स्थापित नेपाली र अमेरिकी सेना लगायत दुई देशबीचको मैत्रीपूर्ण सम्बन्ध एवं विद्यमान द्विपक्षीय सहयोग तथा सहकार्यको क्षेत्रलाई थप व्यवस्थित र प्रभावकारी बनाउन महत्वपूर्ण सावित हुने विश्वास लिएको नेपाली सेनाले जनाएको छ ।

प्रतिक्रिया