असार १ गतदेखि भदौ मसान्तसम्म सडक खन्न नपाइने, जबरजस्ती खने कारबाही
अखबार टुडे
प्रकाशित:
२०७९, २५ जेष्ठ

काठमाडौं, २५ जेठ । आगामी तीन महिना सडक खन्न नपाइने भएको छ । सडक विभागले सूचना जारी गरी १ असारदेखि भदौ मसान्तसम्म सडक खन्न स्वीकृति नदिने र जबरजस्ती खनेमा कारबारी गर्ने चेतावनी दिएको छ ।

विभाग मातहतको संघीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालयले सूचना जारी गरी बर्खायाम सुरु भइसकेकोले असार १ गतेदेखि भदौ मसान्तसम्म विभिन्न प्रयोजनका लागि सडक खन्ने वा भत्काउने काम रोक्न भनेको छ ।

काठमाडौं उपत्यकामा धारा, ढल, बिजुली, टेलिफोनलगायत मर्मतका लागि सडक भत्काइने भएकोले बर्खामा यसले गर्दा सडक बिग्रिने र तत्काल मर्मत गर्न नसकिने भएकोले यस्तो काम तीन महिना बन्द गर्न सूचनामा उल्लेख गरिएको छ ।

सडक डिभिजन कार्यालयले स्वीकृति नदिँदा सडक खनेको पाइएमा सार्वजनिक सडक ऐन २०३१ अनुसार कारबाही गरिने अनुगमन कार्यालयले चेतावनीसमेत दिएको छ ।

प्रतिक्रिया