सिसडोल ल्यान्डफिल साइट वरपरको पानीसमेत प्रदूषित
अखबार टुडे
प्रकाशित:
२०७९, २५ जेष्ठ

काठमाडौं, २५ जेठ । उपत्यकाको फोहोर व्यवस्थापन भइरहेको नुवाकोटको सिसडोल ल्यान्डफिल साइट वरपरको पानी समेत प्रदूषित भएको पाइएको छ ।

नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट)का डा रविन्द्र ढकाल, डा टिस्टा प्रसाई जोशी, डा सौरभ भट्टराई, अनिता पन्थी र सुनिता श्रेष्ठसहितको विज्ञ टोलीले गरेको अध्ययनमा पानी प्रदूषित भएको पाइएको हो ।

टोलीले लिच्चड मिसिएर भएको प्रदूषणको अध्ययन लिच्चड मिसिनु अगाडि लिच्चड मिसिएको स्थान र लिच्चड मिसिने स्थान भन्दा ९२० मिटर पर गरेर ३ फरकफरक विन्दुबाट पानीको नमुना संकलन गरेर अध्ययन गरियो थियो ।

सिसडोलबाट संकलित तीन वटा नमुनाको तुलनात्मक अध्ययन गर्दा पानीमा प्रशस्त मात्रामा लिच्चड मिसिएको पाइएको काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले जानकारी दिएका छन् ।

उनका अनुसार १ किलोमिटर परसम्म पानीमा प्रदूषणको मात्रा उच्च देखिएको छ । उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘यसबाट सो स्थानमा जल सम्बद्ध जीवजन्तुमा नकारात्मक असर परेको प्रारम्भिक अध्ययनले देखाएको छ ।’ पानी तथा लिच्चडको पूर्ण रिपोर्ट भने केही दिनमा आउने बताइएको छ ।

प्रतिक्रिया