बन्चरेडाँडाका स्थानीयमाथि बल प्रयोग, खसाल्न थालियो काठमाडौंको फोहोर
अखबार टुडे
प्रकाशित:
२०७९, २४ जेष्ठ

काठमाडौं, २४ जेठ । बञ्चरे डाँडामा काठमाडौंबाट फोहोर फाल्न गएका सवारीलाई रोकेपछि स्थानीयमाथि प्रहरीले बल प्रयोग गरेको छ ।

बन्चरेडाँडा ल्यान्डफिल साइट प्रभावित क्षेत्र सरोकार समितिले गरेको सडक अवरोध प्रहरीले बल प्रयोग गरेर हटाएको हो ।

धुनिबेंसी नगरपालिका–१ र ककनी गाउँपालिका–३का क्षेत्रमा प्रहरीले धरपकड गर्दै अवरुद्ध सडक खुलाउने प्रयास गरिरहेको छ । सरोकारवाला समितिका उपाध्यक्ष सन्नोत उप्रेतीले प्रहरीले २० जनाभन्दा बढी स्थानीयलाई नियन्त्रणमा लिएको जानकारी दिए । उनका अनुसार प्रहरीले महिलामाथि हातपात भएको, कसैको लुगा च्यातिएको, बुढापाकलाई लात्तीले हानेका छन् ।

प्रहरीले घरघरमै पुगेर स्थानीयवासीलाई लाठी प्रहार गरिरहेको पीडितहरुले बताएका छन् । उनीहरुले सडकमा हिँडिरहेकाहरुलाई पनि प्रहरीले बल प्रयोग गरेको उप्रेतीले बताए । धुनिबेंसीको कुरुले क्षेत्र र नुवाकोटको बन्चरेडाँडा क्षेत्र अहिले तनावग्रस्त रहेको उनले बताए ।

काठमाडौंको फोहोर खसाल्न सुरू गरिएको छ । दायाँबायाँ, अगाडि–पछाडि प्रहरी तैनाथ गरेर बञ्चरेडाँडा डम्पिङ साइटमा फोहोर खसाल्न थालिएको हो । अहिले १५–२० ट्रक फोहोर पुगेको जनाइएको छ । नुवाकोटका एसपी रामप्रकाश साहले सिसडोलको अवरोध खोलिएको र सवारी साधनहरु बन्चरे डाँडातर्फ लागेको जानकारी दिए ।

सरकारले सोमबार राति भएको सम्झौताअनुसार मंगलबारदेखि फोहोर खसाल्न ल्याउन भनेपछि बञ्चरेडाँडाका स्थानीय बिहानैबाट धर्ना बसेका थिए । फोहोर फाल्न नदिने भन्दै सिसडोल र बञ्चरे डाँडा बीचको आलेटार भन्ने ठाउँमा बिहान देखि स्थानीयले धर्ना दिइराखेका थिए ।

प्रतिक्रिया