मेयर बालेनले भने- ‘अब कुहिने र नकुहिने फोहोर नछुट्याए महानगरले उठाउँदैन’
अखबार टुडे
प्रकाशित:
२०७९, २४ जेष्ठ

काठमाडौं, २४ जेठ । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाले फोहोर व्यवस्थापनमा सहयोग गर्न महानगरबासीलाई आग्रह गरेका छन् ।

मंगलबार सामाजिक सञ्जालमा एक सन्देश जारी गर्दै मेयर शाहले फोहोर व्यवस्थापन नगरबासीको साथबिना नहुने भन्दै कोठा, घर, कार्यालय तथा व्यवसाय कतैबाट पनि फोहोर निस्किदा कुहिने, नकुहिने गरेर कम्तिमा दुई किसिमका फोहोरहरु छुट्टयाएर राखिदिन आग्रह गरेका हुन् ।

यसरी कुहिने र नकुहिने फोहोरलाई छुट्याइदिने हो भने त्यसको व्यवस्थापन सहज हुने उनले भनाइ छ । उनले नछुट्याइ राखिएको फोहोर महानगरपालिकाले संकलन नगर्ने र फर्काइदिने पनि बताएका छन् ।

उनले फोहोर उठ्नु मात्रै समस्याको समाधान नभइ अझैं धेरै गर्न बाँकी रहेको बताए । ‘फोहोरको दीर्घकालिन व्यवस्थापन गर्न चाहन्छौं, जसको समाधान यहाँको फोहोर अन्त कतै फ्यालेर वा थुपारेरे हुँदैन,’ उनले भनेका छन् ।

फोहोर व्यवस्थापन चाँडो भए स्वच्छ र स्वस्थ काठमाडौंमा कसैले रोगी भएर बाँच्नु वा मर्नु नपर्ने उनको भनाइ छ । मेयर शाहले अब महानगरले पहिलेका कमजोरी वा गल्तिहरु नदोहोर्याउने बताएका छन् ।

फोहोरलाई स्रोतबाट नै छुट्याउनका लागि हदैसम्मको सहकार्य र कोशिस गर्ने र महानगरबासीले छुट्याइसकेको फोहोरलाई महानगरले पुनः एकैठाउँमा मिसाउने गल्ति नगर्ने उनको भनाइ छ ।

मेयर साहले फेसबुकमा लेखेका छन्, ‘तपाईले छुट्याएर संकलन गर्ने गाडीमा हालिसकेको फोहोरसँगै आफूले नछुट्याइ ल्याएको फोहोर कसैले मिसाउन पाउन छैन । यसको अर्थ हो, नछुट्याएको फोहोर महानगरले संकलन गर्ने छैन र फर्काइदिने छ । यसबाट पर्न सक्ने असुविधाका लागि माफी चाहन्छौँ तर नछुट्टिएका फोहोर संकलन नगर्ने कुरामा हामी सम्झौता नगरौँ ।’

प्रतिक्रिया