बन्चरेडाँडामा फोहोर फाल्न गएका गाडीलाई स्थानीयले बाटोमै रोके
प्रकाशित:
२०७९, २४ जेष्ठ
काठमाडौं, २४ जेठ । बन्चरेडाँडामा स्थानीयले फोहोर फाल्न रोक लगाएका छन् ।
सरकार र फोहोर फाल्ने क्षेत्रका प्रतिनिधिबीच भएको सहमति नमान्ने भन्दै उनीहरुले फोहोर फाल्न रोक लगाएको हो ।
शहरी विकास मन्त्रालय, काठमाडौं महानगरपालिका, नुवाकोटको ककनी गाउँपालिका र धादिङको धुनिबेसी नगरपालिकाका प्रतिनिधिहरुबीच मंगलबारबाट काठमाडौंको फोहोर बिसर्जन गर्ने सहमति भएको थियो ।
तर आज विहान काठमाडौंबाट फोहोर बोकेर गएका गाडीहरुलाई स्थानीयले बाटोमै रोकेका छन् । उनीहरुले उक्त सहमति नमान्ने भन्दै फोहोर बिसर्जन गर्न नदिएको हो ।
गत १४ जेठबाट काठमाडौं महानगरपालिका, ललितपुर महानगरपालिका र अन्य नगरपालिकाहरुको फोहोर उठ्न सकेको छैन । फोहोर सडकमै थुप्रिएकाले दुर्गन्ध बढेको छ ।
प्रतिक्रिया