मन्त्री हेरफेरको निर्णय पार्टीले गर्ने हो, अरुले होइन : झलनाथ खानल
अखबार टुडे
प्रकाशित:
२०७९, २३ जेष्ठ

काठमाडौं, २३ जेठ । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले मन्त्री हेरफेर गर्ने पार्टीको निर्णय कार्यान्वयन हुने बताएका छन् । पार्टीको निर्णय उल्ट्याउने अधिकार अरु कुनै पनि शक्तिसँग नरहेको उनको भनाइ छ ।

सोमबार प्रतिनिधिसभा बैठकबाट बाहिरिने क्रममा पूर्वप्रधानमन्त्री समेत रहेका खनालले पत्रकारहरूसँग संक्षिप्त कुरा गर्दै भने, ‘कसलाई मन्त्री बनाउने, कसलाई नबनाउने भन्ने निर्णय नेकपा एकीकृत समाजवादीले गर्छ । धर्तीका अरू कुनै तागतले सक्दैनन् । हाम्रो पार्टीमा लाखौ सदस्यहरू छन्, उनीहरूको निर्णय पार्टीका कमिटीहरूले गर्छन्, अरूले होइन ।’

खनालले सरकार बनाउने बेला नै ६ महिनामा मन्त्री फिर्ता हुने सहमति भएको भन्दै दायाँबायाँ नहुने बताए ।
एकीकृत समाजवादीले आइतबार शहरी विकासमन्त्री झाँक्री, स्वास्थ्यमन्त्री खतिवडा, श्रममन्त्री श्रेष्ठ र पर्यटनमन्त्री प्रेम आलेलाई फिर्ता बोलाउने निर्णय गरेको थियो ।

स्वास्थ्य राज्यमन्त्री भवानी खापुङलाई मन्त्री बनाउनुका साथै शहरी विकासमा मेटमणि चौधरी, श्रममा शेरबहादुर कुँवर, पर्यटनमा जीवनराम श्रेष्ठ र स्वास्थ्य राज्यमन्त्रीमा हिरा केसीको नाम दिएको थियो ।

तर, एकीकृत समाजवादीको उक्त निर्णयमा प्रधानमन्त्री शेरबहादुर देउवाले तत्काल मन्त्री हेरफेर असान्दर्भिक भएको बताउँदै अस्वीकार गरेको बताइएको छ ।

बजेटको विषयमा संसद्मा छलफल चल्दै गर्दा सम्बन्धित मन्त्रीलाई परिवर्तन गर्नु उचित नहुने भन्दै एकीकृत समाजवादीका मन्त्रीहरूले प्रधानमन्त्री देउवालाई सोमबार भेटेर दबाव दिएका थिए ।

प्रतिक्रिया