मन्त्री हेरफेर गर्ने एकीकृत समाजवादीको निर्णय किन कार्यान्वयन भएन ?
अखबार टुडे
प्रकाशित:
२०७९, २३ जेष्ठ

काठमाडौं, २३ जेठ । मन्त्री हेरफेर गर्ने नेकपा एकीकृत समाजवादीको निर्णय तत्कालका लागि कार्यान्वयन नहुने भएको छ ।

एकीकृत समाजवादीले आफ्नो पार्टीबाट सहभागी भएका मन्त्री फेर्न गरेको प्रस्ताव विवादमा परेपछि प्रधानमन्त्री शेरबहादुर देउवाले त्यसलाई अस्वीकार गरिदिएका हुन् ।

बजेटको विषयमा संसद्मा छलफल चल्दै गर्दा सम्बन्धित मन्त्रीलाई परिवर्तन गर्नु उचित नहुने भन्दै एकीकृत समाजवादीका मन्त्रीहरूले प्रधानमन्त्री देउवालाई सोमबार भेटेर दबाव दिएका थिए । यस्तै उनीहरूले आइतबार नै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई पनि भेटेर आफ्ना अध्यक्ष माधव नेपाललाई सम्झाइदिन दबाव दिएका थिए ।

एकीकृत समाजवादीका तर्फबाट मन्त्री बनेकाहरूले उठान गरेको विषयमा सोमबार विहान शीर्ष नेताहरूको बैठक बालुवाटारमा बसेको थियो । बैठकमा अहिले मन्त्री फेर्दा अन्य दलमा पनि फेरबदलको दबाव बढ्ने र त्यसले सत्ता गठबन्धनको निरन्तरतामै समस्या उत्पन्न हुनसक्ने जोखिम देखियो । त्यसको असर बजेट पारित गर्ने कार्यमै पर्न सक्ने देखिएपछि तत्कालका लागि मन्त्रिपरिषद् पुनर्गठन नगर्ने निष्कर्षमा प्रधानमन्त्री पुगेका हुन् ।

एकीकृत समाजवादीका स्थायी कमिटी सदस्य तथा स्वास्थ्यमन्त्री विरोध खतिवडाले बजेटको विषयमा छलफल चल्दै गर्दा मन्त्री हेरफेर अन्तराष्ट्रिय प्रचलन समेतको विपरीत हुने बताए । प्रधानमन्त्रीले मन्त्री फेरबदल गर्ने निर्णय कार्यान्वयन गर्न नमानेपछि अध्यक्ष नेपालले केही मन्त्रीहरूलाई बोलाएर सोमबार नै छलफल गरेका थिए । छलफलमा अध्यक्ष नेपालले आफूले अन्यथा निर्णय नगरेको भन्दै काममा निरन्तरता दिन मन्त्रीहरूलाई आग्रह गरेका थिए ।

अध्यक्ष नेपालले पुराना मन्त्रीहरूलाई फिर्ता बोलाउनु उनीहरूलाई दण्डित गरेको नभएर अन्य नेताहरूलाई पनि मौका दिनु रहेको बताउँदै आउएका छन् । एकीकृत समाजवादीले आइतबार मात्र शहरी विकासमन्त्री झाँक्री, स्वास्थ्यमन्त्री खतिवडा, श्रममन्त्री श्रेष्ठ र पर्यटनमन्त्री प्रेम आलेलाई फिर्ता बोलाउने निर्णय गरेको थियो ।

स्वास्थ्य राज्यमन्त्री भवानी खापुङलाई मन्त्री बनाउनुका साथै शहरी विकासमा मेटमणि चौधरी, श्रममा शेरबहादुर कुँवर, पर्यटनमा जीवनराम श्रेष्ठ र स्वास्थ्य राज्यमन्त्रीमा हिरा केसीको नाम दिएको थियो ।

प्रतिक्रिया