प्रतिनिधि र प्रदेश सभा चुनावको लागि मतदाता नामावली सङ्कलनको तयारी
अखबार टुडे
प्रकाशित:
२०७९, २३ जेष्ठ

काठमाण्डौं, २३ जेठ । निर्वाचन आयोगले आउँदो प्रतिनिधि सभा र प्रदेश सभा चुनावलाई लक्षित गर्दै मतदाता नामावली सङ्कलन गर्ने तयारी थालेको छ ।

आयोगले असार १ गतेदेखि नामावली सङ्कलनको तयारी गरेको हो । आयोगका अनुसार १८ वर्ष उमेर पुगेका, तर मतदाता नामावलीमा नाम नभएकाले आफू बसेकै जिल्लाबाट नामावली दर्ता गर्न सक्नेछन् ।

स्थायी ठेगानाभन्दा बाहिरी जिल्लामा बसोबास रहेका नागरिकले पनि बसोबास रहेकै जिल्लाबाट नाम दर्ता गर्न सक्नेगरी नामावली दर्ता खुलाउने तयारी भइरहेको आयोगले जनाएको छ । आयोगले ७७ वटै जिल्लामा रहेका निर्वाचन कार्यालयबाट योग्यता पुगेका नेपाली नागरिकले नामावलीमा नाम दर्ता गर्नसक्ने गरी दर्ता खुला गर्नेछ ।

आयोगले कात्तिक अन्तिमदेखि मंसिर पहिलो हप्ताभित्र प्रतिनिधि सभा र प्रदेश सभाको चुनाव गर्नेगरी आन्तरिक तयारी गरिरहेको छ । यसबीचमा मतदाता नामावलीमा देखिएका त्रुटि पनि सच्याइने आयोगले जनाएको छ ।

पालिका चुनावमा कतिपयको नाम नभएको, दोहोरो नाम भएको र मृत्यु भइसकेकाहरुको पनि नाम रहेको भन्ने गुनासो आएको थियो । यस्ता गुनासालाई ध्यान दिँदै मतदाता नामावलीमा रहेका त्रुटि सच्याउने प्रयास भइरहेको प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले उज्यालोलाई जानकारी दिए । वैशाख ३० मा भएको पालिका चुनावअघि १ करोड ७७ लाख ३३ हजार ७ सय २३ मतदाताको नाम आयोगमा दर्ता छ ।

प्रतिक्रिया