राजधानी किभमा हप्तौँपछि पुनः रुसी आक्रमण
अखबार टुडे
प्रकाशित:
२०७९, २२ जेष्ठ

काठमाडौं, २२ जेठ । रुसले युक्रेनी राजधानी किभमा हप्तौँपछि पुनः आक्रमण गरेको छ ।
आक्रमणका कारण विभिन्न ठाउँमा विस्फोटन भएका विवरण आएका छन् भने कम्तीमा एक जना व्यक्ति घाइते भएको बीबीसीले जनाएको छ ।

आइतवार सबेरै गरिएका ती हमलापछि आकाशमा कालो धुवाँको मुस्लो देखिएको थियो । लगत्तै आपत्कालीन सेवाका अधिकारीहरू परिचालित भएको बताइएको छ ।

किभमा मेयर भिताली क्लित्स्कोले ती विस्फोटनहरू सहरको केन्द्रबाट पश्चिममा रहेका जिल्लाहरूमा भएको बताएका छन् । युक्रेनी राजधानी किएभमा जनजीवन सामान्य जस्तो बन्न थालिरहेको थियो ।

रुसी फौजहरू पूर्वी युक्रेनको रहेको डोनबास क्षेत्रमा केन्द्रित हुँदा हालैका महिनाहरूमा किभमा आक्रामक गतिविधिहरू रोकिएका थिए । अहिले सबैभन्दा भीषण लडाइँ सेभरोडोनेट्स्क सहरमा भइरहेको छ ।

लडाइँका कारण सेभरोडोनेट्स्कका अधिकांश क्षेत्र भग्नावशेषमा परिणत भएका छन् तर हजारौँ सर्वसाधारणहरू अझै पनि घरका भूमिगत भागमा लुकेर बसेका छन् ।

गएको फेब्रुअरीको अन्त्यमा रुसले युक्रेनविरुद्ध हमला गरेयता दशौँ हजार मानिसहरूले ज्यान गुमाएका छन् भने दशौँ लाख विस्थापित भएका छन् ।

प्रतिक्रिया