माओवादीले हरेक सदस्यबाट न्यूनतम १०० रुपैयाँ संकलन गर्ने
अखबार टुडे
प्रकाशित:
२०७९, २२ जेष्ठ

काठमाडौं, २२ जेठ । नेकपा माओवादी केन्द्रले एक महिना भित्र हरेक सदस्यबाट न्यूनतम १०० रुपैयाँको दरले रकम संकलन गर्ने भएको छ ।

आइतबार बिहान पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को निवास खुमलटारमा बसेको केन्द्रीय कार्यालयको विस्तारित बैठकले यस्तो निर्णय गरेको हो ।

पूर्व स्थायी समिति सदस्य हरिबोल गजुरेलले पार्टी कार्यालय विस्तार र व्यवस्थित गर्न ८ लाख सदस्यबाट एक महिना भित्र न्युनतम एक सय रुपैयाँको दरले संकलन गर्ने निर्णय भएको जानकारी दिए ।

त्यस्तै बैठकमा पार्टी निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीभित्र देखिएको समस्या समाधान गर्न चाँडै राष्ट्रिय सम्मेलन गर्न पहल गर्ने निर्णय भएको समेत गजुरेलले जानकारी दिए ।

लामो समयदेखि विवादित बनेको अखिल क्रान्तिकारीमा एकपक्षीय रुपमा पदाधिकारी घोषणा भएपछि थप विवाद चुलिएको छ । यसै सन्दर्भमा शनिबार अखिल क्रान्तिकारीका नेताहरुले खुलमटारमा गएर अध्यक्ष प्रचण्डसँग छलफल गरेका थिए ।
त्यस्तै बैठकमा केन्द्रीय समितिको बैठक आगामी असार १५ मा आयोजना गर्नेबारे समेत छलफल भएको छ ।

प्रतिक्रिया