पाकिस्तानको एफआईएद्वारा प्रधानमन्त्रीलाई पक्राउ गर्न अनुमति माग
अखबार टुडे
प्रकाशित:
२०७९, २२ जेष्ठ

इस्तामाबाद, २२ जेठ (एजेन्सी) । पाकिस्तानको संघीय अनुसन्धान एजेन्सी (एफआईए) ले अदालत समक्ष प्रधानमन्त्री शेहबाज शरीफ, उनका छोरा र पञ्जाब प्रान्तका मुख्यमन्त्री हम्जा शेहबाजलाई १६ अर्ब रुपैयाँको सम्पत्ति शुद्धीकरण मुद्दामा पक्राउ गर्न अनुमति दिन अनुरोध गरेको छ ।

यद्यपि, अदालतले उनीहरूको अन्तरिम जमानतलाई जुन ११ सम्म लम्ब्याएको छ । शरीफ परिवारका वकिल मोहम्मद अमजद परवेजले बताएअनुसार उक्त मुद्दामा डेढ वर्षदेखि अनुसन्धान चलिरहेको छ तर अझै पनि एफआईएले उनका विरुद्ध कुनै प्रमाण पेश गर्न सकेको छैन ।

अमजद परवेजले मनी लान्ड्रिङ मुद्दामा जमानत पुष्टि गर्न आफ्नो तर्क पेश गर्न थालेपछि दुबै पीएमएल–एन नेताहरू अदालतबाट बाहिरिएका थिए । दुवैजना जेलमा हुँदा एफआईएले बाबु–छोरालाई सोधपुछ गरेको वकिलले बताएका छन् ।

न्यायाधीशले अन्य सबै सरोकारवालाहरूलाई अर्को सुनुवाइमा आफ्नो तर्क प्रस्तुत गर्न आदेश दिएका छन् । अर्को सुनुवाइ जुन ११ हुनेछ । सुलेमान शाहबाज, ताहिर नक्वी र मलिक मकसूद विरुद्ध गैर जमानती वारेन्टको रिपोर्ट पेश गर्न एफआईएलाई निर्देशन दिइएको छ ।

अर्कोतर्फ, रमजान चिनी मिल र आशियाना हाउजिङ मुद्दामा सुनुवाइका क्रममा पाकिस्तानी प्रधानमन्त्रीले उपस्थित भएर आफ्नो तर्क राख्न पाउँन अनुरोध गरेका थिए ।

नेशनल एकाउन्टेबिलिटी ब्युरो (एनएबी) ले अदालतमा मुद्दा दायर गरेको थियो । सुनुवाईको क्रममा अभियोजक असदुल्लाह मलिकले भ्रष्टाचारका मुद्दाहरूसँग सम्बन्धित रेकर्डहरू प्रस्तुत गर्ने साक्षीहरू पेश गर्न माग गरेका थिए ।

सबै बहस सुनेपछि सुनुवाइ जुन २० गतेसम्मका लागि स्थगित गरिएको छ । जिओ टिभीका अनुसार शहबाजलाई आशियाना हाउजिङ मुद्दामा अभियोग लगाइएको छ ।

फेडरल इन्भेस्टिगेशन एजेन्सी (एफआईए) ले सन् २०२१ को डिसेम्बरमा शहबाज र हम्जा विरुद्ध चिनी घोटाला प्रकरणमा १६ अर्ब रुपैयाँको धनको अपचलनमा संलग्न भएको आरोपमा विशेष अदालतमा चलान पेस गरेको थियो ।

एफआईएले उनीहरूलाई नोभेम्बर २०२० मा पाकिस्तान दण्ड संहिता, भ्रष्टाचार निवारण ऐन र एन्टि मनी लान्ड्रिङ ऐन अन्तर्गत मुद्दा दायर गरेको थियो ।

प्रतिक्रिया