रुस-युक्रेन युद्धको १००औँ दिन : युक्रेनले भन्यो- ‘जित हाम्रै हुनेछ, युक्रेन जिन्दावाद !’
अखबार टुडे
प्रकाशित:
२०७९, २० जेष्ठ

काठमाडौं, २० जेठ । रुस–युक्रेनबीच युद्ध सुरु भएको शुक्रबार १०० दिन पूरा भएको छ । रुसले युक्रेनमाथि आक्रमण सुरु गरेको एकसय दिन पुगेका बेला त्यहाँका राष्ट्रपतिले आफ्नो देशले गरिरहेको प्रतिरोधको प्रशंसा गरेका छन् । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले ‘जित हाम्रो हुनेछ’ भनेका छन् ।

तर, बीबीसीले जनाएअनुसार क्रेम्लिनले चाहिँ रुसले उपलब्धि हासिल गरिरहेको बताउँदै आफ्ना उद्देश्य हासिल नहुँदासम्म पछि नहट्ने जनाएको छ । किएभमा राष्ट्रपति कार्यालय अगाडि उभिएर युक्रेनी राष्ट्रपति जेलेन्स्कीले शुक्रबार एउटा मार्मिक भिडियो सार्वजनिक गरे । भिडिओमा जेलेन्स्कीको आसपास युक्रेनका प्रधानमन्त्रीसहित उनका केही निकट सहकर्मीहरू थिए ।
भिडिओमा उनले भने, ‘युक्रेनका सशस्त्र फौजसमेत यहाँ छन्, हाम्रो देशका नागरिकहरूसमेत यहाँ छन् । हामीले युद्धको प्रतिरोध अहिलेसम्म १०० दिन गरिसकेका छौँ । जित हाम्रो हुनेछ । युक्रेन जिन्दाबाद ।’

बीबीसीका अनुसार रुसले अतिक्रमण सुरु गरेको एक दिनपछि २५ फेबु्रअरीमा समेत जेलेन्स्कीले ठ्याक्कै त्यही ठाउँबाट उस्तैखाले भिडिओ सार्वजनिक गरेका थिए । त्यसपछि पश्चिमा देशहरूबाट उनलाई ‘उद्धार’ गरेर देशबाहिर लैजान आएको प्रस्तावलाई अस्वीकार गर्दै ‘आफूलाई त्यस्तो सवारीको सहायता नभइ हतियार चाहिएको’ बताएका थिए । सय दिनपछि युद्ध जारी रहँदा उनी आफ्नो पदमा कायम छन् ।

तस्बिरहरु एजेन्सी

यसैबिच नेटोका प्रमुख येन्स स्टोलटेनबर्गले पश्चिमा देशहरूलाई लामो यात्राको लागि तयार रहन सजग गराएको बीबीसीले उल्लेख गरेको छ । युक्रेन सङ्कटका लागि राष्ट्रसंघीय संयोजक अमिन अवादले यस युद्धमा विजेता न अहिले कोही छ, न कहिल्यै हुनेछ’ भनेका छन् । दक्षिण रुसको सोची शहरमा पुटिनलाई भेटेका सेनेगलका राष्ट्रपतिले युद्धले सिर्जना गरेको खाद्य अभावबारे सोच्न भनेको बताइएको छ ।

क्रेम्लिनका प्रवक्ता दिमित्री पेस्कोफले भने मस्कोले भन्ने गरेको सैन्य कारबाहीको एउटा मुख्य लक्ष्य स्वघोषित डोनेट्स्क र लुहान्स्क गणराज्यमा मानिसहरूलाई सुरक्षित राख्नु रहेको बताएका छन् । बीबीसीले उनको भनाइलाई उदृत गर्दै लेखेका छन्, ‘उनीहरूको सुरक्षाका लागि उपायहरु चालिएका छन् र केही नतिजा हासिल भएका छन् ।’

हालसम्म रुसी फौजहरूले युक्रेनको २० प्रतिशत भूभागमा नियन्त्रण जमाएका छन् । किएभमा रहेका बीबीसीका जो इनवूड बताएअनुसार ‘यस देशले लडाइँ जित्दैमा युद्ध नजितिने कुरा सिकेको छ ।’ उनले भनेका छन्, ‘रुसीहरूले पनि यही कुरा सिकेका छन् र आफ्ना गल्ती नदोहो¥याउन प्रतिबद्ध छन् ।’

प्रतिक्रिया