काठामडौं, २० जेठ । वायुसेवा सञ्चालक संघ नेपालले ‘हेलिकोप्टरमा दुई पाइलट राख्न असम्भव’ शीर्षमा प्रकाशित समाचारप्रति आपत्ति जनाएको छ ।
अध्यक्ष क्याप्टेन रामेश्वर थापाको हवाला दिई एकल इन्जिन भएका हेलिकोप्टरहरुमा दुई पाइलट राख्न सकिन्न भन्ने प्रकाशित समाचारप्रति संघले गम्भिर ध्यानाकर्षण जनाएको हो ।
प्रवक्ता योगराज कंडेल शर्माद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘एकल इन्जिन भएका हेलिकोप्टरहरुमा २ जना पाइलट राख्नुपर्ने व्यवस्था उत्पादनर्ताको डिजाइन, उद्देश्य र अन्तर्राष्ट्रिय प्रचलनको प्रतिकूल हुने देखिन्छ । यस सम्बन्धमा नेपाल नागरिक उड्डयन प्राधिकरणले पाँच सदस्यीय प्राविधिक टोली गठन गरी अध्ययन गरिरहेको परिप्रेक्ष्यमा संघका अध्यक्षज्युसँग सम्पर्क नै नगरी उहाँलाई उद्धृत गरी समाचार प्रकाशित गर्नु पत्रकारिताको आचारसंहिता विपरित रहेको यो संघको ठहर छ ।’
संघ तथा संघका सदस्य वायुसेवा कम्पनीहरु उड्डयन सुरक्षा तथा हवाई सुरक्षामा अत्यन्त संवेदनशिल रहेकाले प्राधिकरणको प्राविधिक टोलीले हवाई सुरक्षाका लागि दिने उपयुक्त र सान्दर्भिक सुझावअनुसार नियमनकारी निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणबाट प्राप्त हुने निर्देशनहरु पूर्ण पालनाका लागि संघ प्रतिवद्ध रहेको विज्ञप्तिमा उल्लेख छ ।
हालका दिनहरुमा संघबाट भए गरेका कामहरुको केही सीमित व्यक्ति तथा समूहबाट आफ्नो स्वार्थ परिपूर्तिका लागि नकारात्मकरुपमा टीकाटीप्पणी गरी भ्रम फैलाउने कार्य भइरहेकाले संघको आधिकारिक धारणा नआएसम्म यस्ता भ्रमपूर्ण समाचारहरुमा विश्वास नगर्न विज्ञप्तिमा उल्लेख छ ।
नेपाल वायुसेवा सञ्चालक सङ्घले एकमात्रै इन्जिन भएको हेलिकोप्टरमा दुई पाइलट राख्नुपर्ने नेपाल नागरिक उड्डयन प्राधिकरणको निर्णय कार्यान्वयन गर्न असम्भव रहेको भन्ने खबर प्रकाशित भएको थियो । साथै एक इन्जिन भएको हेलिकोप्टरमा दुई पाइलट राख्दा तलबमा धेरै रकम खर्च गर्नुपर्ने भएकाले कम्पनी धरासायी हुने नेपाल वायु सेवा सञ्चालक सङ्घका अध्यक्ष क्याप्टेन रामेश्वर थापालाई उद्धृत गरी समाचार प्रकाशित भएको थियो । तर उक्त समाचार भ्रमपूर्ण रहेको संघले विज्ञप्तिमार्फत जनाएको हो ।