सिसडोललाई एक हप्ताभित्र दुर्गन्धमुक्त बनाउँछौँ: मेयर साह
अखबार टुडे
प्रकाशित:
२०७९, २० जेष्ठ

काठमाण्डौं, २० जेठ । काठमाण्डौ महानगरपालिकाका मेयर बालेन्द्र साहले फोहर विर्सजन गर्ने नुवाकोटको सिसडोललाई एक हप्ताभित्र दुर्गन्धमुक्त बनाउने आश्वासन दिएका छन् ।

शुक्रवार बिहान काठमाण्डौको फोहर विर्सजन गर्ने सिसडोलको अनुगमन गर्ने क्रममा मेयर साहले केमिकल प्रयोग गरेर एक हप्ताभित्र त्यहाँ दुर्गन्ध आउने अवस्थाको अन्त्य गर्ने बताएका हुन् । त्यसका लागि आफूले विज्ञहरूसँग आवश्यक छलफल गरेको पनि उनले बताए ।

मेयर शाहले भने, ‘एक हप्तामा गन्ध नआउने गरी केमिकलको व्यवस्था गरिन्छ । मल र ग्यास पनि बनाइन्छ । त्यसका लागि तीन महिना लाग्छ । केमिकल हालिसकेपछि एक हप्ताभित्र गन्ध हटाइन्छ । बन्चरेडाँडाको पनि सबै रिपोर्ट हेरियो । सड्ने र नसड्ने फोहोर छुट्टयाउने । त्यसबाट मल र ग्यास निकाल्ने हो । सड्ने र नसड्ने फोहोर छुट्टयाउनका लागि काठमाडौं महानगरपालिकाले घरघरमा जनचेतना फैल्याउने काम गर्नेछ ।’

उनले आफ्नो पहिलो प्राथमिकता काठमाण्डौको फोहरबाट सिर्जित समस्या समाधान गर्नुरहेको दोहो¥याउदै तत्कालका लागि काठमाण्डौमा थुप्रिएको फोहर व्यवस्थापनमा अवरोध नगर्न स्थानीयवासीसँग आग्रह गरे ।

स्थानीयवासीले भने आफूहरूको माग सम्बोधन नगरेसम्म काठमाण्डौको फोहर विर्सजन गर्न दिन नसकिने अडान राखेका थिए । स्थानीयवासीले आफूहरु पनि मान्छे नै भएकाले फोहरका कारण पीडित बनाएर नराख्न आग्रह गरे ।

आगामी दिनमा विगतमा जस्तै स्थानीयवासीको मागलाई बेवास्ता गरी अगाडि बढे थप समस्या सिर्जना हुने भन्दै ककनी गाउँपालिका वडा नं ३ का अध्यक्ष घननाथ बजगाईंले समयमै माग सम्बोधन गर्न कामपालई आग्रह गरे ।

मागअनुसार पीडितलाई स्वास्थ्य बीमा, शिक्षालगायतको व्यवस्था कामपाले गरे पनि जग्गा अधिग्रहणका लागि केन्द्र सरकारसँग सहकार्य गर्नु आवश्यक हुने पनि उनले सुझाव दिए । दीर्घकालीनरुपमा फोहर व्यवस्थापनको सवालमा राज्यले कहिल्यै पनि पहल नगरेको आरोप स्थानीयवासीले लगाएका थिए ।

प्रतिक्रिया