चन्द्रनगर गाउँपालिकाले बार कक्षा पास गरेर २० वर्ष पुगेपछि विवाह गर्ने छोरीलाई ५० हजार दिने
अखबार टुडे
प्रकाशित:
२०७९, २० जेष्ठ

सर्लाही, २० जेठ । सर्लाहीको चन्द्रनगर गाउँपालिकाले १२ कक्षा पास भएर २० वर्ष पुगेपछि विवाह गर्ने छोरीहरूलाई ५० हजार रुपैयाँ दिने निर्णय गरेको छ ।

नवनिर्वाचीत गाउँपालिकाका अध्यक्ष राजकुमार महतोले बालविवाह रोक्न र छोरीहरूलाई पढ्ने उत्प्रेरणा दिन यस्तो निर्णय गरेका हुन् ।

उनले यहाँ ६०÷७० प्रतिशत बालविवाह हुने गरेको बताउँदै भागी विवाह भयावह अवस्था रहेको बताए । यस्तो बाल विवाह कम गर्न २० वर्ष पुगेपछि विवाह गर्ने छोरीहरलाई ५० हजार रुपैयाँ दिने घोषणा गरेको उनको भनाइ छ ।

‘१४–१५ वर्षका किशोरीहरूले उमेर नपुगी विवाह गर्दा एकातिर उनीहरूले पढाइ पूरा गर्न पाउँदैनन् अर्कातिर कम उमेरमा गर्भवती हुँदा उनीहरूको स्वास्थ्यमा समस्या हुन्छ,’ उनले भने, ‘५० हजार रुपैयाँ दिने निर्णयले सबै समस्या समाधान हुन्छ म भन्दिनँ तर यो पढ्न र २० वर्ष पूरा भएपछिमात्रै विवाह गर्न उत्प्रेरक हुन सक्छ ।’

एक पुस्ताका छोरीहरूले १२ कक्षा पास गरेर २० वर्ष पुगेपछि मात्रै विवाह गरे भने त्यसले अर्को पुस्तामा सकारात्मक सन्देश जाने उनको विश्वास छ ।

प्रतिक्रिया