सवारी साधनमा इम्बोस्ड नम्बर नराखे कारबाही गर्ने चेतावनी
अखबार टुडे
प्रकाशित:
२०७९, २० जेष्ठ

काठमाडौं, २० जेठ । सरकारले सवारी साधनमा इम्बोस्ड नम्बर नराखे साउन १ देखि कारबाही गर्ने चेतावनी दिएको छ ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गत यातायात व्यवस्था विभागले बागमती र गण्डकी प्रदेशमा दर्ता कायम रहेका सवारी साधनहरूमा अनिवार्य रूपमा इम्बोस्ड नम्बर प्लेट राख्न आग्रह गरेको हो ।

साउन १ गतेपछि ट्राफिक प्रहरीले सडकमा चेकजाँच गर्ने र इम्बोस्ड नम्बर प्लेट राखेको नपाइएमा सवारी तथा यातायात व्यवस्था ऐन २०४९ अनुसार कारबाही गरिने विभागको चेतावनी छ ।

सवारी साधनमा इम्बोस्ड नम्बर प्लेट जडान अनिवार्य गर्न २०७८ कात्तिक २२ मा नेपाल राजपत्रमा सूचना प्रकाशन गरिएको विभागले जनाएको छ । बागमती प्रदेशको ललितपुरस्थित एकान्तकुना र काठमाडौंस्थित जुर्जुधारा तथा गण्डकी प्रदेशको कास्कीस्थित पोखरामा रहेका यातायात व्यवस्था कार्यालयहरूमा इम्बोस्ड नम्बर जडानसम्बन्धी विभागको निर्देशन र संघीय कानून कार्यान्वयनमा नआएकोमा पनि विभागले ध्यानाकर्षण भएको जनाएको छ ।

यस्तै, मोटरसाइकललगायत साना–ठूला सवारी साधनमा इम्बोस्ड नम्बर प्लेट जडान गर्न पनि सवारी साधन धनीहरूलाई विभागले आग्रह गरेको छ ।

प्रतिक्रिया