राप्रपाको प्रस्ताव: प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री र अविभावकीय भूमिकामा रहनेगरी राजा
अखबार टुडे
प्रकाशित:
२०७९, १९ जेष्ठ

काठमाडौं, १९ जेठ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले शासकीयस्वरूप र निर्वाचन प्रणालीमा सुधारको माग गरेको छ ।

बिहीबार काभ्रेको धुलिखेलमा सम्पन्न केन्द्रीय कार्यसम्पादन समितिको बैठकले प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री र राजा रहनेगरी शासकीयस्वरूप परिवर्तन गर्न माग गरेको हो ।

बैठक जारी विज्ञप्तिमा भनिएको छ, ‘भ्रष्टाचार र अस्थिरताको अन्त्यका लागि वर्तमान शासकीयस्वरूप र निर्वाचन प्रणालीमा सुधार गरी पूर्ण समानुपातिक संसद, जनताले प्रत्यक्ष निर्वाचित गर्ने कार्यकारी प्रधानमन्त्री र अभिभावकीय संस्थाका रूपमा राजा रहने व्यवस्था माग गरेका छौँ ।’

राप्रपाले संघ र प्रदेशको चुनावमा लोकप्रिय उम्मेदवार छनोट गर्न पार्टीभित्र र बाहिरबाट समेत उम्मेदवारीका लागि सार्वजनिक आह्वान गर्ने निर्णय गरेको छ । राप्रपा प्रवक्ता मोहन श्रेष्ठका अनुसार यी प्रस्तावलाई अब संघीय निर्वाचनमा जोडदार रूपमा उठाउनेछ । उनले केन्द्रीय समिति बैठकबाट यी प्रस्ताव पारित गरेर अघि बढ्ने बताए ।

कार्यसम्पादन समिति बैठकमा अध्यक्ष राजेन्द्र लिङदेन, नेताहरू पशुपतिशम्शेर राणा र प्रकाशचन्द्र लोहनीलगायत उपस्थित थिए । प्रवक्ता श्रेष्ठका अनुसार असारमा केन्द्रीय समिति बैठक बोलाउने निर्णय पनि भएको छ । असार ७, ८ र ९ गते केन्द्रीय समिति बैठक बस्ने उनले बताए ।

प्रतिक्रिया