युक्रेनलाई अत्याधुनिक हतियार दिने निर्णय गरेर अमेरिकाले आगोमा घ्यू थप्यो: रुस
अखबार टुडे
प्रकाशित:
२०७९, १९ जेष्ठ

काठमाडौं, १९ जेठ (एजेन्सी) । युक्रेनलाई थप अत्याधुनिक हतियार दिने अमेरिकाको निर्णयलाई रुसले आगोमा घ्यू खन्याएको आरोप लगाएको छ ।

क्रेम्लिनका प्रवक्ता दिमित्री पेश्कोफले युक्रेनलाई हतियार दिएर अमेरिकाले प्रत्यक्ष र नियतवश आगोमा घ्यू खन्याएको प्रतिक्रिया जनाएको हो ।

अमेरिकाले दिन लागेका ती अस्त्रहरू मस्कोसँग भएका भन्दा अत्याधुनिक भएको बीबीसीले जनाएको छ । अमेरिकाले उच्च प्रविधियुक्त, मध्यम–दूरीका रकेट प्रणाली समावेश भएको हतियार प्याकेज प्रदान गर्ने जनाएको छ । अमेरिकी प्याकेजमा हेलिकप्टर, जेभलिन एन्टी–ट्याङ्क हतियार प्रणाली, रणनीतिक सवारी साधन, मर्मतसम्भारका सामग्री सामेल गरिएको अधिकारीहरूले बताएका छन् ।

अमेरिकाले प्रदान गर्ने आधुनिक रकेट प्रणाली युक्रेनलाई अहिले दिएका अस्त्रभन्दा निकै लामो दूरीसम्म प्रहार गर्न सक्ने क्षमताका छन् । अहिलेसम्म अमेरिकाले त्यस्ता अस्त्रहरू रुसभित्रका निशानामा प्रहार गर्न प्रयोग हुनसक्ने भयले युक्रेनलाई दिन अस्वीकार गर्दै आएको थियो ।

बाइडनले उक्त अस्त्र प्रणाली उपलब्ध गराउने पुष्टि गरेपछि रुसले परमाणु क्षेप्यास्त्र चलाउने फौजको अभ्यास थालेको घोषणा पनि गरेको छ ।

जर्मनीले पनि हतियार उपलव्ध गराउने
जर्मनीले बुधबार युक्रेनलाई आधुनिक एन्टि–एयरक्राफ्ट मिसाइल र रडार प्रणालीहरू आपूर्ति गर्ने बताएको छ । जर्मन चान्सलर ओलाफ स्कोल्जले जर्मनीसँग रहेका सबैभन्दा आधुनिक रक्षा प्रणालीका क्षेप्यास्त्र युक्रेनलाई पठाइने सांसदहरूलाई बताएको छ ।

युक्रेनलाई प्रदान गरिने हतियारबाट रूसी हवाई आक्रमणबाट पूरै शहरको रक्षा गर्न सकिने उनले बताए । जर्मनीले युक्रेनलाई शत्रुको तोपखाना पत्ता लगाउन रडार प्रणाली पनि उपलब्ध गराउने जानकारी दिए । पश्चिमी हतियारहरू रूसको धेरै ठूला र सुसज्जित सेनालाई रोक्न तथा युक्रेनको सफलताको लागि महत्वपूर्ण मानिएका छन् ।

प्रतिक्रिया