प्रधानमन्त्रीको प्रलोभनमा पर्दिनँ : अध्यक्ष नेपाल
अखबार टुडे
प्रकाशित:
२०७९, १९ जेष्ठ

काठमाडौं, १९ जेठ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्रीको प्रलोभनमा नपर्ने बताएका छन् ।

पार्टीका नवनिर्वाचित जनप्रतिनिधि तथा कार्यकर्तालाई प्रशिक्षण दिन बिहीबार सुर्खेत पुगेका अध्यक्ष नेपालले अहंकारी र षडयन्त्रकारीहरुले विभिन्न खालका भ्रम फैलाइरहेको भन्दै आफू कुनै प्रकारको प्रलोभन तथा लालचमा नपर्ने बताएका हुन् ।

उनले भने, ‘प्रचण्डजीले एउटा कार्यक्रममा प्रधानमन्त्रीको अफर आयो भन्नुभएको थियो । त्यसको जवाफमा मैले तपाईंलाई मात्र हैन, अन्त पनि आएको छ भनेर संकेत गरेको थिएँ । यो कार्ड मान्छेलाई मुर्ख बनाउने तरिका हो । म कुनै प्रकारको प्रलोभन र लालचमा पर्ने मान्छे हैन ।’

अध्यक्ष नेपालले वाम गठबन्धन र एमालेसँग एकीकरणको चर्चा चलेपनि तत्काल यो दुवै सम्भावना नरहेको पनि बताए । आफूले इमान्दारीता देखाउँदा पनि गठबन्धन दलहरुबाटै धोका पाएको भन्दै नेपालले धेरै अहंकार देखाउनेहरु भष्म हुने बताए ।

उनले गठबन्धन दललाई संकेत गर्दै भने, ‘धोका दिने तरिका विभिन्न पार्टीहरुले यसपटक पनि अंगालेका छन् । उहाँहरुलाई भन्न चाहान्छु, बेइमानी नगर्नुस् । बेइमानी गरे तपाईंहरुको पनि हरि बिजोग हुनेवाला छ । ती पार्टीहरु भस्म हुनेछन् । सुध्रिन आग्रह गर्दछु । ’

प्रतिक्रिया