अमेरिकाको एक अस्पतालमा गोली चल्दा ४ जनाको मृत्यु
अखबार टुडे
प्रकाशित:
२०७९, १९ जेष्ठ

काठमाडौं, १९ जेठ (एजेन्सी) । अमेरिकाको ओक्लाहोमाको एक अस्पतालमा आक्रमणकारीले गोली चलाउँदा चार जनाको मृत्यु भएको छ ।

उक्त गोलीकाण्डमा कैयौँ घाइते भएको र आक्रमणकारीको पनि आफैंले चलाएको गोली लागेर मृत्यु भएको समाचार एजेन्सी रोयटर्सले उल्लेख गरेको छ ।

ओक्लाहोमाका प्रहरी अधिकारी जोनाथन ब्रुक्सले आक्रमणकारीको पहिचान गर्ने प्रयास भइरहेको बताए । उनको उमेर ३५ देखि ४० वर्षको बीचमा रहेको अनुमान गरिएको छ ।

डाक्टरहरूको कार्यालय र अर्थोपेडिक सेन्टर रहेको अस्पतालको दोस्रो तल्लामा आक्रमण भएको थियो । अर्का प्रहरी अधिकारी एरिक डल्ग्लासले मारिनेमा कर्मचारी र बिरामी दुवै रहेको बताए । ह्वाइट हाउसले राष्ट्रपति जो वाइडेनलाई आक्रमणबारे जानकारी गराइएको जनाएको छ ।

गत हप्ता टेक्सासको एक विद्यालयमा बन्दुकधारीले अन्धाधुन्ध गोली चलाउँदा १९ बालबालिका र दुई शिक्षकको मृत्यु भएको थियो । मे महिनामा एक बन्दुकधारीले बफेलो सुपरमार्केटमा गोली चलाउँदा १० जनाको ज्यान गएको थियो ।

प्रतिक्रिया