कांग्रेसलाई पनि ठेगान लगाउन नपरोस् : अध्यक्ष दाहाल
अखबार टुडे
प्रकाशित:
२०७९, १८ जेष्ठ

काठमाडौं, १८ जेठ । सत्ता साझेदार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाली कांग्रेसलाई अहंकार र दम्भ नगर्न आग्रह गरेका छन् ।

बुधबार पार्टीबाट निर्वाचित जनप्रतिनिधिहरूलाई काठमाडौंमा प्रशिक्षण दिने क्रममा दाहालले स्थानीय तहको चुनावी जितका आधारमा कांग्रेसको अहंकार बढ्न सक्ने भन्दै त्यस्तो भए एमालेकै जस्तो हालत बनाइदिने चेतावनी दिएका हुन् ।

प्रचण्डले भने, ‘कांग्रेसलाई माओवादीले बडो मिहिनेत गरेर प्रधानमन्त्री बनायो तर एमालेको जस्तो अहंकार ग¥यो भने हामीले कांग्रेसलाई एमालेलाई जस्तै ठेगान लगाउन नपरोस् । कांग्रेस अहंकारी होला कि भन्ने चिन्ता छ ।’

बृहत्तर हितका लागि अझै पनि गठबन्धनको आवश्यकता रहेको तर स्थानीय तह चुनावमा गठबन्धन इमानदार नभएको उनले बताए । ‘हामीले आफ्नो पार्टी भन्दा धेरै ठाँउमा गठबन्धनमा भरोसा ग¥यौैं त्यो गर्दा हामीले धेरै ठाँउमा गुमायौं’ अध्यक्ष दाहालले भने, ‘अब हामीले प्रदेश र संघको चुनावमा शिक्षा लिएर अघि बढ्नु पर्छ ।’

उनले माओवादीले कहिले कसको कहिले कसको दम्भ बढाईदिन्छ भन्ने आरोप लाग्ने गरेको उल्लेख गरे । प्रचण्डले भने, ‘कहिले एमालेको दम्भ बढाइदिन्छ, कहिले कांग्रेसको दम्भ बढाइदिन्छ भन्ने आरोप छ । त्यस्तो गरेको जस्तो पनि देखिन्छ तर जसले दम्भ देखायो अहंकार त्यसविरुद्ध माओवादीले विद्रोह गर्दै आएको छ ।’

उनले गठबन्धनको विषयलाई लिएर कांग्रेसले दम्भ र अहंकार देखाउने अवस्था आए त्यसविरुद्ध विद्रोह गर्ने उल्लेख गरे । उनले आउँदो चुनावमा पनि गठबन्धनमा थप सुधार आवश्यक रहेको उनको भनाई थियो ।

प्रतिक्रिया