कन्सर्टमा गाउँदागाउँदै बिरामी परेका भारतका चर्चित गायक केकेको निधन
अखबार टुडे
प्रकाशित:
२०७९, १८ जेष्ठ

काठमाडौं, १८ जेठ (एजेन्सी) । भारतका चर्चित गायक केके (कृष्ण कुमार कुन्नथ) को ५३ बर्षको उमेरमा निधन भएको छ ।
मंगलबर साँझ कलकत्तामा सांगीतिक प्रस्तुती दिइसकेपछि अस्वस्थ भएका उनको उपचारको क्रममा निधन भएको हो ।

कोलकताको एक कन्सर्टमा गीत गाउँदागाउँदै उनको स्वास्थ्य बिग्रिएको थियो । होटलमा आउनसाथ स्वास्थ्यमा थप समस्या देखिएपछि उनलाई कलकत्ताकै मेडिकल रिचर्स इन्चिच्युट अस्पताल लगिएको थियो । तर, अस्पाताल पु¥याउनासाथ चिकित्सकहरूले मृत घोषणा गरेका थिए ।

उनलाई हृदयघात भएको भारतीय मिडियाहरुले जनाएको छ । तर, यस विषयमा अहिलेसम्म आधिकारिक जानकारी अस्पतालले दिएको छैन ।

‘केके’ले मंगलबारको आफ्नो कार्यक्रमको केही झलक सामाजिक सञ्जालमा समेत सेयर गरेका थिए । उनले कलकत्ताको नाजरुल मञ्च प्रस्तुती दिएका थिए ।

उनको निधनप्रति भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलगायतले शोक व्यक्त गरेका छन् । उनका गीतमा सबै उमेर समूहका मानिस जोडिने गरेको बताउँदै मोदीले गीतमार्फत केके सबैको हृदयमा बस्ने भन्दै ट्वीट गरेका छन् ।

हिन्दी, तामिलसहित आठ भाषामा गीत गाएका केकेले फिल्म ‘माचिस’मा संलग्न ‘छोड आए हम’मार्फत बलिउड डेब्यु गरेका थिए । हम दिल दे चुके सनम, तडप तडपबाट उनले पछि फर्केर हेर्नुपरेन । एल्बम पलबाट उनले सांगीतिक करियर थालेका थिए ।

बजरंगी भाइजानको गीत तु जो मिला, ओम शान्ति ओमको अजब सी, वो लम्हेको क्या मुझे प्यार है, रेडीको हमको प्यार हुवा, पल एल्बमको पल, काइट्सको दिल क्यों ए मेरा, भूल भूलैयाको लबों को, द ट्रेनको बिते लम्हे, हम दिल दे चुके सनमको तडप तडप, दसको दस बहाने लगायत उनका चर्चित गीत हुन् ।

प्रतिक्रिया