इनरुटको मौसम सफा नभए उडान अनुमति नदिने क्यानको निर्णय
अखबार टुडे
प्रकाशित:
२०७९, १७ जेष्ठ

काठमाडौं, १७ जेठ । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले मौसम सफा नभई आन्तरिक उडानका लागि अनुमति नदिने भएको छ ।

आइतबार तारा एयरको ट्वीनअटर जहाज मुस्ताङमा दुर्घटनामा परी २२ जनाको मृत्यु भएसँगै (क्यान)ले प्रस्थान गर्ने विमानस्थल, पुग्नुपर्ने विमानस्थलसहित ‘इनरुट’को मौसम सफा नभएसम्म जहाजहरुलाई उडान अनुमति नदिने निर्णय गरेको हो ।

प्राधिकरणका प्रवक्ता उपमहानिर्देशक देवचन्द्र लाल कर्णले भने, ‘पहिले विमान उड्ने विमानस्थल र विमान पुग्ने विमानस्थलको मौसम सफा भएमा हामीले उडान अनुमति दिने गरेका थियौँ तर अब इनरुट मौसम पनि सफा हुनुपर्ने निर्णय गरेका छौँ । यसले हवाई दुर्घटना कम गर्न मद्दत गर्नेछ ।’

प्रवक्ता कर्णका अनुसार यस्तो निर्णय भिएफआर (भिजुअल फ्लाइट रुल्स)बाट उडान गर्ने विमान र विमानस्थलका लागि मात्रै लागु हुनेछ । प्रवक्ता कर्णले भने, ‘यो नियम भिएफआर विधिबाट उडान भर्ने विमान कम्पनी, विमानस्थलमा मात्रै लागु हुनेछ । आइएफआर सिस्टम जडान भएको विमान र विमानस्थललाई यो नियम लागु हुने छैन । तर त्यसका लागि पहिले विमानमा आइएफआर हुनुप¥यो ।’

उड्डयन क्षेत्रमा भिएफआर भन्नाले आँखाले हेरेर र विमान उडाउने र ल्याण्ड गर्ने विधि भन्ने बुझिन्छ । यस्तै, इनरुट भन्नाले विमान उड्ने स्थान, विमान पुग्ने स्थान र उडानको बाटोसमेतलाई जनाउँछ ।

प्रतिक्रिया