राष्ट्रपति पुटिन अधिकतम ३ वर्ष बाँच्ने पूर्व रुसी जासूसको दाबी
अखबार टुडे
प्रकाशित:
२०७९, १७ जेष्ठ

मस्को, १७ जेठ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको शरीरमा क्यान्सर तीव्र गतिमा फैलिंदै गएको खुलासा भएको छ ।

रुसी गुप्तचर स्रोतलाई उद्धृत गर्दै ६९ वर्षीय राष्ट्रपति पुटिनको शरीरमा क्यान्सर गम्भीर र तीव्र गतिमा फैलिंदै गएकाले उनी अधिकतम दुईदेखि तीन वर्ष बाँच्न बाँकी रहेको विइन्सडेली न्युजले उल्लेख गरेको छ ।

द इन्डिपेन्डेन्टको रिपोर्टका अनुसार रुसी संघीय सुरक्षा सेवा (एफएसबी) ले बेलायतमा बस्ने पूर्व रुसी जासूस कार्पिकोभलाई सन्देश पठाएर यो जानकारी दिएको हो ।

अधिकारीले पुटिन बाँच्नको लागि दुई–तीन वर्षभन्दा बढी समय नभएको तथा आँखाको ज्योति गुम्दै गएको पनि बताएको छ ।
पूर्व जासूस कार्पिकोभको यो सन्देशमा लेखिएको थियो, ‘हामीलाई भनिएको छ कि उनको टाउको दुखेको छ । टिभीमा आउँदा ठूला अक्षरमा लेखिएको कागज दिइन्छ । अक्षरहरू यति ठूला छन् कि पृष्ठमा केही वाक्यहरू मात्र आउन सक्छन् । उनको आँखाको ज्योति निकै छिटो घट्दै गएको छ ।’
यस बाहेक उनको हातखुट्टाले पनि धोका दिएको पनि रिपोर्टमा उल्लेख गरिएको छ ।

अधिकारीहरूको बयान रुसी राष्ट्रपतिको द्रुत रूपमा बिग्रँदै गएको स्वास्थ्यको बारेमा बढ्दो अनुमानहरू बीच आएको हो । तर, रुसी विदेशमन्त्री सर्गेई लाभरोभले आइतवार राष्ट्रपति पुटिन बिरामी भएको अनुमानको खण्डन गर्दै पुटिनको बिरामीको कुनै लक्षण नभेटिएको बताए ।

मिडिया रिपोर्टका अनुसार रुसी राष्ट्रपति पुटिन लामो समयदेखि बिरामी छन् । उनी क्यान्सर र पार्किन्सन रोगबाट पीडित छन् । यस महिना पुटिनले आफ्नो पेटबाट तरल पदार्थ हटाउन शल्यक्रिया गर्नुपरेको समाचार पनि आएको थियो। बिना समस्या उनको शल्यक्रिया गरिएको थियो ।

रुसी राष्ट्रपतिले गत हप्ता सोचीमा बेलारुसका राष्ट्रपति अलेक्जेन्डर लुकाशेन्कोसँग भेट गरेका थिए । कार्यक्रममा पनि पुटिन आफ्नो खुट्टा असहज ढंगले हिँडेको देखिएका थिए । दावीका अनुसार पुटिनको थप दुईवटा शल्यक्रिया हुने भएको छ । तर, यसको मिति भने तय भएको छैन ।

प्रतिक्रिया