काठमाडौं, १७ जेठ । सरकारले मेलम्ची खानेपानी आयोजनाको सुरुङको मूल ढोका (गेट) बन्द गरेको छ ।
‘प्रि–मनसुन’ (वर्षायाम) सक्रिय भएपछि मेलम्ची खानेपानी विकास समितिले सिन्धुपाल्चोकस्थित अम्बाथानमा रहेको सुरुङको मूल ढोका मंगलबार बिहान ८ बजेदेखि बन्द गरेको हो । योसँगै काठमाडौंमा मेलम्चीबाट पानी आउन बन्द भएको छ ।
गत ११ वैशाखबाट सरकारले सिन्धुपाल्चोकस्थित बाँधस्थलमा अस्थायी संरचना तयार गरेर काठमाडौंमा पुनः मेलम्चीको पानी वितरण थालेको थियो । अस्थायी बाँध बाँधेर सिधै सुरुङमा पानी हालिएकाले वर्षायाममा सुरुङमा हुनसक्ने जोखिमलाई ध्यान दिएर सुरुङ बन्द गरिएको जनाइएको छ ।
बाढी आउन थालेपछि बन्द हुने सुरुङ तिहारपछि खोल्न सकिने विश्वास गरिएको छ । वर्षामा सुरुङ बन्द राखियो भने वर्षमा ८ महिना पानी खुवाउन सकिने आयोजनाको भनाइ छ । समितिका अनुसार नियमित वर्षा रोकिएपछि फेरि मेलम्चीको पानी सुरुङमा हाल्ने र काठमाडौं ल्याएर वितरण थाल्ने योजना रहेको छ ।
मेलम्चीको तटीय क्षेत्रमा अझै पहिरोको जोखिम छ भने लेदोसहितको बाढीको जोखिम टरेको छैन । १ असार २०७८ मा आएको बाढीले क्षतिग्रस्त भएको आयोजनाको मुहानस्थल सफा गरेर अहिले मेलम्चीको पानी सुरुङभित्र सोझै हालिएको छ ।
प्राविधिकहरुका बालुवा थिग्रयाउन बनाएको संरचना समेत बाढीले पुरेकाले बाढी आएको समयमा खुला राखेमा सुरुङ नै ‘कोल्याप्स’ हुने जोखिम हुन्छ ।
आयोजनाका अनुसार अहिले एशियाली विकास बैंक (एडीबी)ले मेलम्चीको माथिल्लो तटीय क्षेत्र र मुहानस्थलको अवस्थाबारे अध्ययन गरिरहेको छ । एडीबीको प्रतिवेदनअनुसार नै सरकारले भरपर्दो रुपमा मेलम्चीको पानी पथान्तरण गर्ने योजना बनाएको छ ।