तारा एयरको जहाज दुर्घटना: मृत्यु भएकामध्ये दश जनाको शव काठमाडौँ ल्याइँदै
अखबार टुडे
प्रकाशित:
२०७९, १६ जेष्ठ

काठमाडौं, १६ जेठ । प्रतिकूल मौसमका कारण मुस्ताङको थासाङ गाउँपालिका–२ सानोसरेमा आइतबार भएको तारा एयरको जहाज दुर्घटनामा परी मृत्यु भएकामध्ये दश जनाको सव अहिले काठमाडौँ ल्याइँदै छ ।

त्रिभुवन विमानस्थलस्थित नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता टेकनाथ सिटौँलाका अनुसार २२ जना सवार दुर्घटनामा परेको उक्त विमानमा २१ जनाको शव भेटिएको र त्यसमध्ये पहिलो चरणमा दश जनाको शव काठमाडौँमा ल्याइँदै छ ।

प्रतिकूल मौसमका कारण अर्का एकजनाको शव खोजी भइरहेको र भेटाउन नसकिएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रहेको खोज तथा उद्धार समन्वय केन्द्रले जनाएको छ ।

केन्द्रका अनुसार दश जनाको शव बोकेर नेपाली सेनाको एमआई १७ नामक हेलिकप्टर अहिले पोखराबाट काठमाडौँका लागि उडेको छ । शवको उद्धार तथा आवश्यक व्यवस्थापनका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आले, सचिव महेश्वर न्यौपाने सहितको टोली बिहानदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रहेको खोज तथा उद्धार समन्वय केन्द्रमा खटिइरहेको छ ।

भेटिएका शव सनाखत गर्न बाँकी छ । समुन्द्री सतहदेखि चार हजार मिटरभन्दा बढी उचाइमा रहेको घटनास्थलमा कुहिरो लागेको बताइएको छ । भेटिएका २१ शवमध्ये ११ वटा शव घटनास्थलमै रहेको र मौसममा सुधार आएपछि पोखरा ल्याइने उद्धार टोलीले जनाएको छ ।

मानापाथी हिमालको फेदीमा रहेको पहाडमा जहाज ठोक्किएर टुक्राटुक्रा परेको अवस्थामा आज बिहान भेटिएको नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक ई प्रदीप अधिकारीले जानकारी दिए ।

पोखराबाट आइतबार बिहान ९ः५५ बजे जोमसोमका लागि उडेको तारा एयरको ९ एनएइटी कलसाइन भएको उक्त विमान बिहान १०ः०७ बजे जोमसोम विमानस्थलको टावरबाट सम्पर्क विच्छेद भएको थियो ।

प्रतिक्रिया