इरानमा १० तले भवन भत्किंदा २९ जनाको मृत्यु, ३८ बेपत्ता
अखबार टुडे
प्रकाशित:
२०७९, १६ जेष्ठ

तेहरान, १६ जेठ (एजेन्सी) । इरानको राजधानी तेहरानमा एक भवन भत्कँँदा कम्तीमा २९ जनाको ज्यान गएको छ भने कम्तीमा ३८ जना पुरिएको आशंका गरिएको छ ।

तासनिम समाचार समितिका अनुसार आइतबार एक शीर्ष प्रान्तीय अधिकारीलाई उद्धृत गर्दै सो जानकारी दिएको हो ।

आइतबार भत्किएको सो १० तले भवनमा परेर अरु केही व्यक्ति घाइते पनि भएका छन् । साथै भवनमा पुरिएकाहरुको उद्धार कार्य जारी रहेको बताइएको छ ।

इरानको खुजृस्तान प्रान्तका गभर्नर सादिक खालियानले दिएको जानकारीअनुसार सो प्रान्तको अब्दान सहरमा सो दुर्घटना भएको हो । घटनास्थलको भ्रमणका क्रममा गभर्नर खलिलियनले पत्रकारहरूसँग २९ को शव निकालिएको तर केहीको पहिचान खुल्न बाँकी रहेको जानकारी दिए ।

सहरको बीच भागमा निकै भीडभाड हुने क्षेत्रमा सो भवन निर्माणाधीन अवस्थामा रहेको बताइएको छ । हराएकाहरुको खोजीका लागि ठूलो संख्यामा प्रहरी र उद्धारकर्मी परिचालन गरिएको छ । तर भवनको बाँकी भाग पनि भत्किएला जस्तो रहेकाले निकै सावधानीपूर्वक उद्धारको काम गरिरहनुपरेको अधिकारीहरुले जनाएका छन् ।

प्रतिक्रिया