मेयर बालेनको निर्णय: नगर सभाको बैठक लाइभ, फोहर व्यवस्थापन नभएसम्म फूलमाला र खादा नलगाउने
अखबार टुडे
प्रकाशित:
२०७९, १६ जेष्ठ

काठमाडौं, १६ जेठ । काठमाण्डौ महानगरपालिकाका नवनिर्वाचित मेयर बालेन्द्र साहले पदबहाली गरेका छन् । सो क्रममा साहले आफ्नो चुनावी प्रतिबद्धताअनुसार नगर सभाको बैठक लाइभ गरिने जानकारी दिए ।

जनप्रतिनिधिले गर्ने निर्णय पारदर्शी हुनुपर्ने र नागरिकले थाहा पाउनुपर्ने भएकाले बैठक लाइभ गर्ने निर्णय गरेको साहको भनाइ छ । यस्तै मेयर साहले काठमाण्डौको फोहर व्यवस्थापन नगरेसम्म खुसी नमनाउने र फूलमाला तथा खादा नलगाउने पनि बताए ।

‘हामीले खादा, माला, अन्तर्वार्ता र सेलिब्रेसनहरू फोहरको व्यवस्थापन नभएसम्म नगर्ने भनेका छौँ । हामीले गरेको पापको भारी सिसडोलवासीले भोग्दै हुनुहुन्छ । उहाँहरू क्यान्सर पीडित हुनु भएको छ, छालाको रोग लागेको छ । यो शोक मनाउने बेला हो’, साहले भने, ‘फोहरको व्यवस्थापन नहुन्जेल र सिसडोलवासीले स्वच्छ वातारण र हावामा बस्ने र पानी पिउने वातावरण नहुन्जेल अरू काम हुँदैन । आफ्नो मुख्य एजेन्डा नै काठमाण्डौको फोहर व्यवस्थापन भएकाले नुवाकोटका नागरिकलाई असर नपर्ने गरी फोहर व्यवस्थापनको काम गर्ने छौँ ।’

आज कामपाका प्रमुख, उपप्रमुखसहित १६० जनप्रतिनिधिले पद तथा गोपनीयताको शपथ लिएका थिए । मुख्य निर्वाचन अधिकृतको कार्यालय राष्ट्रियसभा गृहमा आयोजित कार्यक्रममा मुख्य निर्वाचन अधिकृत राजुकुमार खतिवडाले प्रमुखमा निर्वाचित बालेन्द्र साह, उपप्रमुखमा निर्वाचित सुनिता डङ्गोललगायत ३२ वटै वडाका वडाध्यक्ष र वडा सदस्यलाई शपथ गराएका थिए ।

प्रतिक्रिया